ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- संविधान मिचेर संसद विघटन गर्नेबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन

रुपन्देही । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु सँगै भएको बताउँदै समाजवादी मोर्चाको भविष्य रहेको बताएका छन् ।

सरकारमा बस्न कुनै शक्तिसँग अनुचित सम्झौता नगर्ने बताउँदै उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए ।

बुटवलमा मंगलबार भएको समाजवादी मोर्चा नेपालको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा बस्न गलत काम गर्दै नगर्ने बताए ।

‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’, उनले भने ।

प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताए । उनले अहिले प्रतिक्रियावादी शक्तिहरु जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको औंल्याए ।

जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरु अहिलेको मोर्चामा रहेको उनकाे भनाइ थियो । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन्’, प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै भने, ‘पटक पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन ।’

उनले अहिलेको गणतन्त्र दलाल पूँजीवादी गणतन्त्र भएको भन्दै मुलुकका लागि जनगणतन्त्रभन्दा माथिको समाजवादी गणतन्त्र चाहिएको बताए ।

‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको, श्रमिक वा पूँजीपतिहरुको हुने हो ? त्यसैको लागि यो मोर्चा बनेको छ’, प्रचण्डले भने, ‘एक्लै लडेर यो लडाइँ जित्न सकिँदैन, यसका लागि मित्रहरुको खोजी गरिनुपर्छ ।’

उनले सुशासनको पक्षमा सरकारले काम गरेकाले आम जनतामा केही हुन्छ कि भन्ने आशा र भरोसा जागेको बताए ।

उनले समाजवादी मोर्चाले आवश्यक परे लाखौं जनतालाई सडकमा ल्याउनुपर्ने बताए ।

Comments

2 responses to “ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- संविधान मिचेर संसद विघटन गर्नेबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन”

  1. Dhruba Prasad Thapaliya Avatar
    Dhruba Prasad Thapaliya

    कोशी प्रदेशमा चाही संविधानको संरक्षण गरेको होला हैन, अलिकति सरम पनी मान्नु नी ।

  2. Dhruba Prasad Thapaliya Avatar
    Dhruba Prasad Thapaliya

    समाजबादी गणतन्त्र चाहि कति टन सुन ल्याएपछी आउने रहेछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *