गुल्मी अस्पतालमा उपचाररत बालिकाको मृत्युपछि आफन्तको आन्दोलनले तनावग्रस्त

रूपन्देही ।गुल्मीको तम्घासस्थित जिल्ला अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएपछि बालिकाको आफन्तले चिकित्सकको लापरबाही भनेर आन्दोलन गरेपछि तनावग्रस्त बनेको छ । अस्पतालमा उपचारका लागि पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेपछि यस्तो अवस्था भएको हो ।

घटना मिलाउन अस्पताल प्रशासनले प्रयास गरेपनि कुनै टुंगोमा नपुगेपछि अहिले बालिकाका आफन्त र अस्पताल प्रशासन सिडियो कार्यालयमा गएर छलफल गर्ने भएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान पौने ८ बजेको समयमा मृत्यु भएको थियो । प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार उनलाई पेट दुखेपछि बाबुले मोटरसाइकलमा राखेर हिजो सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका थिए ।

उनले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। मङ्गलबार बिहान ६ बजेको समयमा उनी निदाएकै अवस्थामा इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउँदाबित्तिकै बच्चा बेहोस् भएको र बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे पनि नर्सहरूले समयमै डाक्टर नबोलाउँदा बच्चाको ज्यान गएको भण्डारीले आरोप लगाए । यहीँ कारण बालिकाको मृत्यु भएको भन्दै उनीहरूले शव नउठाई अस्पताल घेराउ गरेका हुन् ।

घटनाका प्रत्यक्षदर्शी धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पदम बिष्टले स्वास्थ्यकर्मीकै लाहापरवाहीले बालिकाको ज्यान गएको बताउँछन् ।
अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनालाई सामान्य रुपमै प्रस्तुत गर्न खोजेपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गर्दै थप आक्रोशित भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *