काठमाडौं । रिक्त रहेको राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सहसचिव दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
पहिलो नम्बरमा सिफारिसमा परेका घिमिरे हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत चीनको छेङ्दुस्थित महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।
अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रहेकी छन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको जिम्मेवारीमा रहेका छन् ।
सम्भवतः आजै बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जना मध्ये एक जनालाई सचिवमा बढुवा सिफारिस गर्ने गर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गोपीकृष्ण खनालको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै रिक्त भएको सचिव पदका लागि बढुवा सिफारिस गरिएको हो ।

Leave a Reply