समाजवादी मोर्चाको आज बुटवलमा सभा, प्रचण्ड-नेपाल-विप्लव र यादवले सम्बोधन गर्ने

रुपन्देही । समाजवादी मोर्चाले आज बुटवलमा गर्न लागेको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सो सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा नेता मनिकर कार्कीले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा भएकाले यहाँ राज किशोर आउन लागेका हुन् । नेताहरूका अनुसार माधव नेपाल र राज किशोर यादव बिहान १० बजे आउने छन् भने प्रचण्ड १ बजे मात्रै आउने कार्यक्रम छ ।

विप्लव भने पहिले नै आउने कार्यक्रम छ । सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ ।

आज भदौ १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम मोर्चाको बैठकबाट निर्णय भइसकेको छ ।

सरकारमा सहभागी तीन दल र संसदमै नभएको विप्लव नेतृत्वको पार्टीबीच समाजवादी मोर्चा बनेको हो ।

Comments

One response to “समाजवादी मोर्चाको आज बुटवलमा सभा, प्रचण्ड-नेपाल-विप्लव र यादवले सम्बोधन गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    सभामा प्रचण्ड भन्छन दिल्लीको सेवा गर्ने हो । विप्लव भन्छन पैसा लुटने हो । माधव भन्छन अपमान । यादव भन्छन मन्त्री त जसरी पनि खाने हो । अनि आएन समाजवाद ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *