काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा पर्दै गएको विश्लेषण गरेका छन्।
नेपाल त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच एकताबद्ध हुनुपर्ने बेलामा सत्ता केन्द्रित भएको आरोप लगाए।
‘देश आन्तरिक रूपमा पूँजी र श्रम दुवै पलायन भइरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा पर्दै गएको बेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो’ उनले ट्विटरमा लेखेका छन् ।
चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति/शक्तिहरूको सत्ताको लुछाचुँडीले संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको उनको बुझाइ छ।
संघ र प्रदेश १ लगायतमा भइरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्ता लुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भइरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति/दल/गुटका आ-आफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी/दलाली त्यसका भद्दा नमूना भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ ! रणबहादुर र जङ्गबहादुरहरू त आउँछन्, जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !’

Leave a Reply