त्रिवि सेवा आयोगसमक्ष ५ बुँदे मागसहित अनेरास्ववियुको १५ दिने अल्टिमेटम

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनले राखेका पाँच बुँदे माग सम्बोधनका लागि त्रिवि सेवा आयोगसमक्ष १५ दिनको अल्टिमेटम दिएको छ ।

बिहीबार त्रिवि जिल्ला कमिटीका संयोजक समिरराज विष्टलगायतका विद्यार्थी नेताले आयोगका अध्यक्ष प्रा. डा. घनश्याम भट्टराईसमक्ष मागपत्र पेश गरेका हुन् ।

आयोगबाट प्रवाह हुने सबै सेवाहरूलाई चुस्तदुरूस्त बनाउन खुल्ला प्रतिस्पर्धाको विधि अवलम्वन गरी खस्किँदै गरेको त्रिविको गरिमालाई पुन प्राप्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने खालका माग भएकाले सम्बोधन गर्न भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ ले परिकल्पना तथा व्यवस्था गरे बमोजिमको त्रिवि सेवा आयोग अध्यक्षविहीन रहँदा विश्वविद्यालयमा रिक्त रहेको प्राध्यापक तथा कर्मचारीहरूको पदपूर्ति, वृत्ति विकासका तथा बढुवा सिफारिस रोकिएका कारण समग्र विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सेवा चुस्तदुरूस्त हुन नसकेको अखिलले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको गरिमा र विरासत जोगाइराख्न शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, पदोन्नति तथा वृत्ति विकासका अवसर खुल्ला प्रतिस्पर्धा मार्फत गरिनुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

हाल आयोगले प्रयोग गर्दै आएको भवन छात्रबास प्रयोजनका लागि निर्माण गरिएको उक्त भवन खाली गराउन समेत पटकपटक ध्यानकर्षण गरेतापनि ढिलासुस्ती गरेका कारण आजकै मिति देखि १५ दिन भित्र भवन खाली गरि छात्रबास प्रयोजनमा सहज वातावरण सिर्जना गरिदिन अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आयोग समक्ष ५ बुँदे माग राखेको छ ।

मागहरू बेवास्ता तथा नजर अन्दाज गरिए थप सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *