टीयूले ढाड सेक्नेगरी बढाएको इन्जिनियरिङको शुल्क फिर्ता लिन अनेरास्ववियुले गरायो ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङतर्फ स्नातक तहको शुल्क बढाएको प्रति शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुले बुधबार शिक्षामन्त्री राईलाई भेटेर अवैज्ञानिक र अव्यवहारिक शुल्क वृद्धि अविलम्ब फिर्ता लिन माग गरेका हुन् । अनेरास्ववियुले विश्वविद्यालयहरु दिनप्रतिदिन कमजोर हुँदै जाने तर शुल्क निरन्तर वृद्धि हुने विकराल परिस्थितिको अन्त्य गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्‍याएको छ ।

सोमबार बसेको कार्यान्वयन समितिको बैठकले गत साउन २५ गतेको शुल्क वृद्धिको निर्णय अनुमोदन गरेको हो । यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रूपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको छ ।

सर्वसुलभ रुपमा गरीब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्देलित रहेको पुष्टि भएको अनेरास्ववियुको आरोप छ ।

देशका विद्यार्थीहरुको पलायन रोक्न सरकारले शिक्षामा थप लगानी गरी सर्वसुलभ रुपमा इन्जिनियरिङ विषय पढाउनु पर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कदापी मान्य नहुने अध्यक्ष समिक बडालले बताएका छन् ।

शुल्क वृद्धि विरुद्ध सशक्त आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।साथै निर्धारित समयमा परीक्षा लिन, तोकिएकै मितिमा नजिता प्रकाशन गर्न तथा शैक्षिक क्यालेण्डर लागु गर्दै विश्वविद्यालयको गुणस्तरियतामा थप अग्रसरता लिन समेत अनेरास्ववियुले अपिल गरेको छ ।

त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *