कुवेतबाट साेविनाको क्रन्दनः कुटाइले थिलथिलो भएँ, उद्धार होस्

चितवन । घरेलु कामदारको रूपमा कुवेत पुगेकी चितवनकी सोविना परियारले आफूलाई उद्धार गरिदिन आग्रह गरेकी छन् । घरमालिकले कुटपिट गरेर सहनै नसकिने अवस्थामा पुर्‍याएको भन्दै उद्धारको लागि उनले अनुरोध गरेकी हुन् ।

उनले चितवनमा रहेकी आमा ईश्वरीमाया दमाईलाई फोन गरी आफूलाई नेपाल झिकाइदिन अनुरोध गरेकी हुन् । उनकी आमा ईश्वरीका अनुसार सोविना कुवेत गएको गत वैशाखमा १ वर्ष ५ महिना भएको छ । २०७९ साल वैशाखमा भारतको बाटो हुँदै दलालमार्फत घरेलु कामदारको रूपमा उनी कुवेत पुगेकी थिइन् । उनी काठमाडौंबाट पासपोर्ट बनाएर कुवेत गएकी हुन् ।

कुवेतमा सुरुमा बसेको साहुले खानसमेत नदिएपछि उनी ८ महिनाअघि अर्को घरमा काम गर्न सरेकी थिइन् । अहिले त्यही घरमा सोविना काम गर्छिन् ।

अहिले काम गरिरहेको घरकी साहुनी र उनकी छोरी मिलेर दिनदिनै कुट्ने गरेको बताएकाे उनकी आमा ईश्वरीले जानकारी दिइन् ।

साउन महिनामा सोबिनाले टिकटक बनाएको देखेपछि आफूलाई मरणासन्न हुनेगर कुटेर फोनसमेत नदिएको सोबिनाले बताएकी छिन् । चितवनकै अभियन्ता देवीका कुँवरलाई पुरानो फोनबाट भ्वाइस म्यासेज पठाएर उनले आफूलाई इन्टरनेट पनि चलाउन नदिने गरेको बताएकी थिइन् ।

परियारले भ्वाइस म्यासेजमा भनेकी छिन्, ‘यहाँ मलाई इन्टरनेट पनि दिँदैनन् । इन्टरनेट चलाउन पनि आफ्नो पैसा खर्च गर्नुपर्छ । मलाई घर पठाइदे भन्दा २ वर्षको लागि तेरो पैसा तिरेको छु फिर्ता दिएर जा भन्छ ।’

उनले आफूसँग पैसा आउने बित्तिकै घर पठाउने गरेकोले साथमा पैसा पनि नभएको बताएकी छिन् । सोबिनाका अनुसार दीपक पाण्डे नाम गरेको व्यक्तिको सम्पर्कबाट उनी कुवेत पुगेकी हुन् । उनको नेपालको सम्पर्क नम्बर छैन । भारतको मात्रै नम्बर छ ।

सोविना भरतपुर ५, मा बस्थिन् । उनको ७ वर्षको एक छोरा छ । श्रीमानले पनि रक्सी पिएर यातना दिने कारणले छोरा पढाउने खर्च जुटाउन कुवेत गएकी हुन् ।

उनकी आमा ईश्वरीले भनिन्, ‘म ७ वर्ष कुवेत बसेर आएँ । अब म जान्छु, श्रीमानले काम गर्दैन । मेरो छोरा पनि हुर्काउनु छ भनेर छोरी पठाएँ । अहिले कुटाइ खाएकी छे । काम गर्न जानिन होला, दुःख पाएँ भन्छे । सरकारले सहयोग गरिदिए छोरीलाई फर्काउन हुन्थ्यो ।’

महिनाको ३०/४० हजारका दरले पैसा भने पठाउने गरेको उनकी आमा ईश्वरीले जानकारी दिइन् । परियारका श्रीमान् ताराबहादुर विश्वकर्मा हुन् । उनी गाडी चलाउँछन् ।

उनले श्रीमती नेपाल आएर आफूसँग नबस्ने भनेकोले निवेदन दिएर नेपाल फर्काउन नचाहेको बताएका छन् । उनले निवेदन दिन समेत इन्कार गरेका अभियन्ता कुँवरले बताइन् ।

Comments

One response to “कुवेतबाट साेविनाको क्रन्दनः कुटाइले थिलथिलो भएँ, उद्धार होस्”

  1. Bharat Gc Avatar
    Bharat Gc

    आफ्नै देशमा सुख दु:ख नगरि सुनका चुरा लगाउने उडन्ते
    सपना बुनेर महिलालाई बस्तुको रुपमा उपभोग गर्ने समाजमा
    पुगेपछी हुने त्यही नै हो। ब्वाँसोको अगाडि असाहाय पाठो बनेर
    हाजिर भएपछी अरु के आस गर्ने र..!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *