एमाले केन्द्रीय सदस्यको जिम्मेवारीबाट किन बिदामा बसिन् रावल ?

चितवन । नेकपा विभाजनको संकटका बेला चितवन जिल्लाको नेतृत्व सम्हालेकी राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वती, अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुन् ।

नेकपा एमालेको सौराहामा सम्पन्न दसौँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएकी उनी अहिले भने पार्टी जिम्मेवारीबाट बिदामा छिन् ।

नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई देशव्यापी रूपमा पालिकास्तरकोे जिम्मा दिइरहँदा रावललाई भने पार्टीले बिदा दिएको छ । उनी पार्टीको केन्द्रीय सदस्यले निभाउनुपर्ने जिम्मेवारीबाट बिदामा बस्दा धेरैले भने पार्टी केन्द्रीय सदस्यबाट नै बिदामा बसेको बुझेका छन् ।

उनले नेपाल प्रेससँग कुराकानी गर्दै आफू पालिकास्तरमा जाने जिम्मेवारीबाट मात्रै बिदामा बसेको बताइन् । रावल अहिले राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति पनि हुन् ।

उनले आफू राष्ट्रियसभा अन्तर्गतको समितिको सभापति भएकोले त्यसको कार्यभार सम्हाल्नुपर्ने अवस्थामा पार्टीको पनि जिम्मेवारी पूरा गर्न गाह्रो हुने भएकोले बिदामा बसेको बताइन् ।

अर्कोतर्फ उनी स्तन क्यान्सरको उपचारपछि स्वास्थ्य लाभ पनि गरिरहेकी छिन् । पहिलो स्टेजमा नै स्तन क्यान्सर पत्ता लागेपछि शल्यक्रिया पछि किमो थेरापी सकाएर उनी स्वास्थ्य लाभ समेत गरिरहेकी हुन् ।

‘स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने समय छ, उनले भनिन्, ‘एकै पटक दुई जिम्मेवारी पनि पूरा गर्न कठिनाइ हुने भएकोले पार्टीको जिम्मेवारीबाट बिदा मागेको हँ ।’

आफूले पार्टीको अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल दुबैजनालाई भेटेर बिदा मागेको उनले बताइन् । पार्टीको केन्द्रीय सदस्य पद भने यथावत् रहेको स्पष्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *