अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा

काठमाडौं। वर्ष २०२४, सेक्टेम्बरमा अमेरिकाको क्यालिफोर्नीयामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । हाल अमेरिका भ्रमणमा रहेका अभिनेता शिव श्रेष्ठ र सुनिल थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो ।

लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी, व्यवसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी ‘गोल्डेन स्टेट मुभी मेकर्स’मार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ ले नेपाली फिल्मको गुणस्तरिय विकास, अन्तराष्ट्रिय बजार प्रवर्द्धन ,विस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। अमेरिकामा समाजसेवा, म्युजिक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा विशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन् ।

उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै व्यवस्थित, निस्पक्ष, सभ्य, भव्य र सानदार हुने दाबी गरेका छन् । ‘हामी पूर्ण व्यवस्थित,भव्य, निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तराष्ट्रिय प्रवर्द्धन र विकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ ।’

अवार्डको जुरी कमिटीमा समेत रहेका वरिष्ट अभिनेता शिव श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर साथ, समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना व्यक्त गरे । अर्का वरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनिल थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको विगतका हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले पनि नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ र थापाका साथमा चर्चित अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौला र चलचित्र पत्रकार, फिल्म लेखक, निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहनेछन् ।

बर्कलीस्थित हिमालय फ्लेबर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट, भलाकुसारी गर्न र फोटो खिच्न विभिन्न स्टेटबाट शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ, सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए ।

आयोजक यज्ञलालले शिव श्रेष्ठ र सुनिल थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए) का अध्यक्ष विष्णु केसी, तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन, एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसीसी सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *