बेइजिङ । १६ अक्टोबर २०१६ मा नेपाली प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ रास्ट्रपति सी चिनफिङले २० मिनेट सँगै बिताए । प्रचण्डपुत्र प्रकाश दाहालले त्रिपक्षीय भेट भएको भनेर नेपाली तथा भारतीय मिडियाहरूलाई भारतको गोआबाट समाचार चुहाए । चिनियाँ पक्षले कुनै ठूलो प्रतिक्रिया दिएन । भारतीय पक्षले भने भेट औपचारिक नभएर ब्रिक्स बिम्स्टेक बैठक अगाडिको अनौपचारिक संयोग भएको तर्क गर्यो ।

झण्डै सात वर्षअगाडि मोदी र सीसँग एकै मञ्चमा भेट्ने मौका पाएका प्रचण्डलाई यो वर्ष भने त्यो मौका जुरेन । सन् २०१६ को ब्रिक्स् र बिम्सटेक आउटरिच कार्यक्रममा मोदीदेखि सी भेट्ने अवसर पाएकी बंगलादेशी समकक्षी शेख हसिनाले भने यो पटक पनि ब्रिक्स्मा जाने मौका पाएकी छन् । आजदेखि ३ दिन (अगस्ट २२-२४) सम्म दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा हुने यो सम्मेलनमा प्रचण्ड जान नपाउनु व्यस्त भएर होइन, निम्तो नआएर हो । ७० देशलाई आएको निम्तोको सूचीमा नेपाल अटाएको छैन । बंगलादेश अटाएको छ ।
‘ग्लोबल साउथ’को प्रभावकारी संस्था ब्रिक्स्मा नेपालका दुवै छिमेकी चीन र भारत प्रभावशाली संस्थापक सदस्यहरू हुन् । दुई छिमेकी प्रभावशाली भएको ग्लोबल साउथको कार्यक्रममा नेपालको तेस्रो नजिकको छिमेकी बंगलादेशले निम्तो पाउँदा नेपालले भने पाएको छैन ।
मंगलबारबाट सुरू तीन दिने १५ औं ब्रिक्स शिखर सम्मेलनमा मात्रै गयल छैन नेपाल । नेपालको दक्षिणी छिमेकी भारतले गर्ने आसन्न जी-२० का प्रमुख निम्तालुमा पनि नेपाल परेको छैन । रोचक कुरा ब्रिक्स्मा जस्तै जी २० मा पनि बंगलादेश हाजिर छ, नेपाल गयल । जी २० को शिखर सम्मेलन सेप्टेम्बर ९ र १० मा भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ ।
नेपालले ग्लोबल साउथमा आयोजना भएका र छिमेकी हर्ताकर्ता भएका संस्थाहरूमा समेत बोलावट पाउन सकेको छैन । यस्तो किन भइरहेको छ ? यो प्रश्न नेपाल प्रेसले हालसालै ‘भूराजनीतिको भार’ नामक पुस्तक निकालेका लेखक बाबुराम विश्वकर्मालाई सोध्यो । विश्वकर्माले निरास उत्तर दिए । नेपालको कूटनीतिमा कुनै त्यस्तो प्रभावकारी हैसियत नभएकोले यस्तो भएको हुनसक्ने उनको तर्क छ ।
ब्रिक्स्देखि जी २० जस्ता ठूला मञ्चमा नेपालले निम्तो नपाउनाको कारणमा तर्क दिँदै उनले भने, ‘बहुपक्षीय तथा विश्व मञ्चहरूमा नेपालको खासै हैसियत र भूमिका देखिँदैन । ब्रिक्स र जी २० मा पनि नेपालको अहिलेसम्म कुनै साइनो र भूमिका छैन । पहिला पनि बोलाउने गरेको थिएन शायद, अहिले पनि बोलाइएको छैन ।’ यसमा केहि आशावादी हुने भविष्य भने रहेको देखाउँदै विश्वकर्माले थपे, ‘विश्व मञ्चमा नेपाल बलियो भयो, सुनिने देखिने हैसियतमा उक्लियो भने नेपाललाई सबैले बोलाउलान् ।’
चीनका लागि पूर्वराजदूत रहेको तथा ‘कूटनीतिक डायरी’ नामको ताजा पुस्तकसमेत बजारमा ल्याएका पूर्वकूटनीतिज्ञ राजेश्वर आचार्यले भने नेपाललाई यस्तो निम्तो नआउनुमा नेपालकै कमजोरी मान्छन् । हाल अमेरिकामा रहेका आचार्यले नेपाल प्रेससँग बोल्दै नेपालको कूटनीतिमा तीन तह भएको र त्यो तीन तहमा राजनीतिक नेतृत्व, कर्मचारी नेतृत्व र राजदूत हुने भन्दै आचार्यले तीनै तहमा कममजोरी हुँदा यस्तो हुने बताए ।
उनले राजनीतिक नेतृत्वअन्तर्गत प्रधानमन्त्री र परराष्ट्रमन्त्री, कर्मचारी नेतृत्वमा मन्त्रालयको सचिव र राजदूतमा स्वयं राजदूत हुने भन्दै यी तीनै पक्षको कमजोरीले नेपालले विश्व मञ्चहरूमा निम्तो पाउन छोडेको बताए । छिमेकी भारतदेखि चीनमा सही मान्छे सही क्षेत्रमा हुने भन्दै उनले भने, ‘चीनका विदेशमन्त्री वाङ यी तीन देशक देखी कूटनीतिमा छन् उनीसँग मैलै पनि काम गरेको छु ।
भारतका विदेशमन्त्री एस. जयशंकर पनि उत्तिकै अनुभव र प्रभावकारी । नेपालमा यस्तो छैन ।’
नेपालमा मन्त्रीदेखि राजदूत नियुक्ति हुन परराष्ट्र मन्त्रालय र कूटनीतिको अनुभव नहुने र अनुभवीहरूको ज्ञान लिन पनि हिचकिचाउने आचार्यले बताए । उनले भने, ‘विज्ञहरू बोलाएर सोध्दा आफू नजान्ने ठानेर सल्लाह लिने गम्भिर चलनै छैन ।’
राजनीतिक र कर्मचारीतन्त्र नेतृत्वले अध्ययन र अद्यावधिमा ध्यान नदिनु पनि यस्ता निम्तो नआउनु वा कम आउनुको प्रमुख कारण भएको आचार्यले बताए ।
भारतका लागी नेपाली राजदूत शंकर शर्मा काबिल भएपनि उनलाई साथ दिने बलियो राजनीतिक तथा कर्मचारी नेतृत्व नहुँदा जी २० को प्रमुख निम्तालुमा नेपाल नपरेको आचार्यले बताए । छिमेकी हर्ताकर्ता भएको कार्यक्रम हुँदैमा स्वतः निम्तो नआउने भन्दै आचार्यले राजनीतिक तथा कर्मचारीतन्त्रको नेतृत्वले जोडबल गर्दा मात्रै निम्तो आउने बताए ।
उनले भने, ‘नेपाल मात्रै हेरेर बस्ने फुर्सद भारत र चीनलाई हुन्न । आफैं चनाखो भएर सक्रिय हुनुपर्छ ।’
के हुन् ब्रिक्स र जी २० ?
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका देशहरूका अंग्रेजीका सुरूका अक्षर मिलाएर बनेको शब्द हो ब्रिक्स । यसको औपचारिक शिखर सम्मेलन सन् २००९ मा रुसमा भएको हो । सुरुमा दक्षिण अफ्रिकाबाहेकका सदस्यहरू जोडिएर प्रथम सम्मेलन भएपनि दुई वर्षपछि दक्षिण अफ्रिका जोडिएको थियो । अहिले पनि साउदी अरेबिला, अर्जेन्टिनादेखि बंगलादेशजस्ता विभिन्न ४० देशहरूले ब्रिक्स्मा जोडिन आसय दिएका छन् । ग्लोबल साउथका उदयिमान अर्थतन्त्रहरूको समूह तथा अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको चुनौती दिने वैकल्पिक संस्थाको रूपमा ब्रिक्सलाई लिने गरिएको छ । ब्रिक्स्को आफ्नै बैंक छ । जसको नाम न्यू डिभेलपमेन्ट बैंक हो । यसको मुख्यालय चीनको व्यापारिक राजधानी सांघाईमा छ ।
जी २० विश्वका प्रभावशाली २० अर्थतन्त्रहरूको छाता संस्था हो । यसको औपचारिक स्थापना सन् १९९९ मा भएको छ । युरोपेली संघसहित अन्य १९ मुलुक मिलेर जी २० बनेको छ जसका सदस्यहरूमा क्रमशः अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् ।

Leave a Reply