काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यस्तै बैठकले अध्यक्ष राजेन्द्र लिङदेन पार्टी आबद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उद्घाटन, प्रवासी नेपाली समुदायसँगको अन्तरक्रिया र विविध कार्यक्रममा सहभागी हुन मंगलबार एकसाताका लागि त्यसतर्फ प्रस्थान गर्ने भएकाले वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको उनले बताए ।
बैठकले भूगोल केन्द्रित जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको समीक्षा गरेको छ । भूगोल केन्द्रित कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको बैठकले निष्कर्ष निकाल्दै यसलाई अभियानको रुपमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ ।

Leave a Reply