९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार

काठमाडौं । ४० वर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्राकार नन्दकला सुवेदी काठमाडौंमा पुरस्कृत एवम् सम्मानित भएकी छन् । उनलाई साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा लेखिका सुवेदीको व्यक्तित्व र उनीद्वारा लेखिएको नियात्रा सङ्ग्रह ‘अठासी वर्षमा कैलाश मानसरोवर’को बारेमा चर्चासमेत गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले ज्येष्ठ नागरिक नियात्राकार सुवेदी लेखनमा सबै उमेर समूहका लेखकहरूका लागि प्रेरणाकी स्रोत बनेको धारणा राखेका थिए । स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेकी सुवेदीको धन्यवाद एवम् आशीर्वाद वक्तव्यको अडियो प्रस्तुत गरिएको थियो ।

साहित्य सन्ध्याद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार खेमराज निरौलालाई २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, नेपालकै वरिष्ठ स्नायुरोग विशेषज्ञ डा.वसन्त पन्तलाई २०७९ सालको ‘साहित्य सन्ध्या-कृबा’ पुरस्कार तथा सम्मान र अर्घाखाँचीकी विद्यार्थी गोमा कामीलाई २०७९ सालको ‘साहित्य सन्ध्या- मन पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *