काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्न सिआइबीलाई गठबन्धनले दबाब दिएकोमा आपत्ति जनाएका छन् ।
शनिबार इलाममा आयोजित कार्यक्रममा महामन्त्री थापाले गठबन्धन बैठकमा अदालतको आदेश र ललिता निवास प्रकरणबारे छलफल हुनु नै आपत्तिजनक रहेको बताए ।
महामन्त्री थापाले भने– मैले पनि समाचारबाट थाहा पाएँ,बालुवाटारमा गठबन्धनको बैठक बस्यो । गठबन्धनको बैठकमा नेताहरु बसेर छलफल गरे । ललिता निवासको बारेमा छलफल भयो र त्यो छलफलमा पूर्व प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्ने भन्ने सहमति भयो रे । गठबन्धनमा यस्तो छलफल गर्न पाइन्छ ?
महामन्त्री थापाले कांग्रेस बैठकजस्तै अब गठबन्धनको बैठक र कांग्रेस एमाले तथा माओवादीका शीर्ष नेताहरुको बैठक पनि लाइभ गर्नुपर्ने बताए । ती बैठकमा के छलफल हुन्छन् भन्ने जनताले थाहा पाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply