विराटनगर । कोशी प्रदेश सभाका प्रमुख दलका प्रदेश सभा सदस्यहरूले प्रदेशमा संघीयता नआएको बताएका छन् । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशको समस्या समाधान गर्न केन्द्रकै भर पर्नु परेको बताए ।
प्रदेश सभामा बोल्दै एमाले कोशी प्रदेश सभाका उपनेता राम रानाले सरकार हरेक कुराको निर्णय माथिकै आदेशमा लिनुपर्ने भएकाले प्रदेशमा संघीयता नआएको बताए । उनले प्रदेश भनेको माथि टाउको चिलाउँदा जिउ त्यसै हल्लिन्छ जस्तो भएको बताए ।
उनले भने, ‘टाउको ठीकै छ तल स्थानीय तह पनि ठीकै छ । प्रदेश भन्ने जिउ चाहिँ टाउको हल्लाउँदा चले जस्तो मात्रै भएको छ ।’ उनले अवसर खोज्ने बहानामा यहाँको समस्या समाधान गर्न प्रदेशमा छलफल नगरी माथि माथि कुदी कुदी हिँड्दा समस्या भएको बताए ।
उनले भने, ‘यो संघीयता भने केन्द्रलै चलाउने जस्तो मात्रै आएको छ । आफैंले चलाउने खालको संघीयता आएकै रहेनछ ।’
प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेका तर्फबाट प्रदेश सभा सदस्य भएका केदार कार्कीले प्रदेशको समस्या समाधान गर्न प्रदेश सभाले नसकेको बताए ।
उनले प्रदेश सभामा प्रश्न गरे, ‘दलहरू मिलेर समस्याको समाधान गर्नु पर्ने हो ? तर दलहरू दल दलमा फँसेका छन् ।’ बाढी पहिरोका कारण प्रदेशमा धेरै क्षति भए पनि प्रदेश सरकार बाढी पीडितको घरमा नदेखिएको उनले बताए ।
सरकार जुनसुकै फेरिए पनि सरकार अविछिन्न जनताको उत्तराधिकारी हो तर जनताले थाहा पाउने गरी सरकारको उपस्थिति नभएको बताउँदै उनले सरकार सर्वोच्च अदालतमा र केन्द्रका नेताहरूको घरमा भएको बताए ।
उनले सबै कुरा माथि नै हेर्नु पर्ने भए प्रदेश सांसद किन चाहियो ? भन्दै प्रश्न गरे । उनले भने, ‘प्रदेश सभाको सार्वभौमसत्ता खै ?’
यहाँको समस्याको समाधान संसद् भित्र खोज्ने भन्दा पनि समस्याको हल खोज्न माथि नै कुरिरहेको बताए । उनले भने, ‘सबै कुराको समस्या माथि नै खोज्ने हो भने यो प्रदेश किन चाहियो ?’ यहाँको समस्याको हल माथि खोज्ने परम्परा रोक्न दलका नेताहरूलाई आग्रह गरे ।
उनले सरकार भएको अनुभूति जनताले नपाएको बताएका छन् । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै उनले आफ्नै नेतृत्वको सरकारको आलोचना गरेको बताए ।
उनले अहिले सरकार कहाँ छ भनेर जनताले सोध्न थालेको बताए । उनले कोशी प्रदेश अहिले सङ्कटमा रहेको बताए । उनले सुन्दर हरैचाँबाट सुरु भएको लम्की स्किन रोगबाट प्रदेशमा ९ हजार ३ सय ९७ पशु मरेको तर सरकार अनविज्ञ रहेको दाबी गरे ।
उनले अहिले प्रदेशका किसानहरूले प्रदेश सरकारले खोजिरहेको तर सरकार भने यताको कुर्सी उता सार्ने र उताको कुर्सी यता सार्नमै लागेको बताए । उनले कोशी प्रदेशमा डेङ्गुले १५ हजार पोजेटिभ भएको र १२ जना मानिसको मृत्यु भइसक्दा पनि सरकारलाई नछोएको बताए ।
उनले पशुमा लागेको लम्की स्किन रोग र मानिसमा लागेको डेङ्गु रोगको नियन्त्रण र उपचारमा सरकार जिम्मेवार नभएको आरोप लगाए । डेङ्गु लागेर उपचार नपाएकाहरूलाई उपचारको व्यवस्था गर्न प्रदेश सरकारले कुनै काम नै नगरेको बताए ।

Leave a Reply