‘छड्के-२’ले पानी भन्न पाएन, अनमोलले पाए ‘वर्ष स्टार’ को अवार्ड

काठमाडौं । शनिबार नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा आयोजना गरेको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण अमेरिकाको सहर न्युयोर्कमा सम्पन्न भयो ।

स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा फिल्म र फिल्मकर्मीको बाक्लै उपस्थिति थियो । उपस्थिति अनुसारकै बाक्लै पुरस्कार तथा अवार्ड पनि प्रदान गरियो ।

समारोहमा सर्वोत्कृष्ट निर्देशक, वर्ष अभिनेता तथा अभिनेत्री, लाइफटाइम अचिभमेन्ट अवार्ड, फिल्म अचिभमेन्ट अवार्ड, सर्वश्रेष्ठ नृत्य निर्देशक, वर्ष गायिका प्रोत्साहन पुरस्कार लगायतका थुप्रै विधामा अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो ।

कृष्ण मल्ल, रविन्द्र खड्का, शर्मिला मल्ल, नारायण प्रधान र दुर्गा बिसुराल जुरी रहेको समारोहमा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकारहरु जिया केसी, सरोज खनाल, शिव श्रेष्ठ, निखिल उप्रेती, आयुष्मान देशराज जोशी, लगायतका अन्य थुप्रै कलाकारहरु पुगेका थिए ।

समारोहमा ‘वर्ष २०२३ सालको स्टार’को उपाधि नायक अनमोल केसीले हात पारे भने नायिका स्वस्तिमा खड्का वर्ष नायिका घोषित भइन् । अनमोल अवार्डका लागि न्यूयोर्क पुगेका थिए भने स्वस्तिमा उपस्थित थिइनन् ।

चलचित्र क्षेत्रमा चर्चा गरिन्छ कि अनमोल त्यो अवार्ड समारोहमा मात्र जान्छन्, जहाँ उनले अवार्ड जित्ने निश्चित हुन्छ । अन्यथा उनी फिल्मी कार्यक्रमहरुमा प्राय पुग्दैनन् ।

त्यसैले उनी अमेरिका जाने भएपछि अवार्ड लिएर आउँछन् भन्ने पक्कापक्की जस्तै थियो । भयो पनि त्यही । तर, अनमोललाई कुन चलचित्रबाट वर्ष स्टारको अवार्ड दिइयो भन्ने प्रश्न उठेको छ । जबकी उनले सन् २०२३ मा खेलेको एक मात्र चलचित्र ‘छड्के २.०’ सुपरफ्लप भएको थियो ।

८ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘छड्के’ को सिक्वेलमा रुपमा छड्के २ आएको थियो । पहिलो सिक्वेलमा ३ जना अभिनयका उस्तादहरू सौगात मल्ल, दयाहाङ राई र विपिन कार्की थिए । प्रस्तुतिका हिसाबले बुलन्द हुँदाहुँदै पनि व्यवसायीक रूपमा भने छड्के असफल भएको थियो । निर्देशक निगम श्रेष्ठले ‘छड्के २’ पूर्णमा अनमोललाई सुम्पिएका थिए ।

अनमोलमाथि नै भर गरेर वितरक सुनील मानन्धरले डेढ करोड रूपैयाँमा यस चलचित्रको प्रदर्शन अधिकारसमेत खरिद गरे । अनमोलको स्टारडमले नै दर्शक हलमा खचाखच हुने धेरैको अनुमान थियो । तर अन्तमा ३ करोड लागतमा निर्माण भएको चलचित्रले बक्स अफिसमा पानी पनि भन्न पाएन ।

यसरी एउटै चलचित्र पनि फ्लप दिएका अनमोलले के आधारमा वर्षका स्टारको अर्वाड पाए त ? यो प्रश्नको जवाफ आयोजकले देलान् त ?

Comments

One response to “‘छड्के-२’ले पानी भन्न पाएन, अनमोलले पाए ‘वर्ष स्टार’ को अवार्ड”

  1. Anand Rai Avatar
    Anand Rai

    पिता भुवन केशिको प्रभाबको असरले २०२३ को बेस्ट एक्टर पाएका हुन भन्दा फरक नपर्ला 😂😂😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *