मेयर आचार्य भन्छन्- पृथ्वीनारायणको प्रतिमा सहमतिमा झिकिएको हो, लखन थापाको सालिक पनि हट्छ

काठमाडौं । पोखराको पृथ्वीचोकमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक २०६४ सालमा माओवादीले भत्काए । उक्त स्थानमा शहिद लखन थापाको सालिक राखियो । त्यसपछि पटक-पटक यहाँ सालिकको विषयलाई लिएर विवाद र झडप हुँदै आएको छ ।

राजसंस्था समर्थकहरूले लखन थापाको सालिकको छेउमा पृथ्वीनारायण शाहको सानो प्रतिमा बनाएर राखेका थिए । केही दिनअघि जनजाति दिवसको र्‍यालीका क्रममा एउटा समूहले उक्त प्रतिमा त्यहाँबाट निकालिदियो । भोलिपल्ट फेरि राजावादीहरूले प्रतिमालाई त्यहीँ लगेर राखे । तर, महानगरपालिकाले त्यो प्रतिमा रातरात निकालेर आफ्नो नियन्त्रणमा लिएको छ ।

अहिले राप्रपाको नेतृत्वमा पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक पुन:स्थापना हुनुपर्ने मागसहित आन्दोलन सुरू भएको छ । महानगरले मध्यरातमा राष्ट्रनिर्माताको प्रतिमा हटाएको भन्दै राजावादीहरू मेयर धनराज आचार्यसँग आक्रोशित छन् । आखिर महानगरले किन हटायो त प्रतिमा ? यो प्रश्न हामीले मेयर आचार्यसँगै सोध्यौं ।

उनको प्रष्टीकरण जस्ताको तस्तैः

पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक २०६४ सालमा आन्दोलनकारीले भत्काइदिएपछि यहाँ पटक-पटक विवाद भइरहेको छ । त्यही ठाउँमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला प्रथम सहिद घोषणा गरेर लखन थापाको सालिक बनाइयो । पृथ्वीनारायण शाहको पूर्णकदको सालिक विभूति पार्कमा स्थापना गरिएको छ ।

२०७४ सालमा पृथ्वीचोकमा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भयो भनेर आइल्यान्ड घटाउने काम भयो । आइल्यान्ड मिलाउने क्रममा लखन थापाको सालिक ढल्यो र महानगरले फेरि ढलोटको सालिक बनाएर त्यहाँ पुन:स्थापना गर्‍यो ।

गएको ०७९ सालको पुस २७ गते लखन थापाकै गोडामा पृथ्वीनारायण शाहको सानो प्रतिमा ल्याएर राख्ने काम भयो । मगर संघ र जनजाति महासंघले त्यसको विरोध गरे र यसलाई हामी झिकेर फाल्ने चेतावनी दिए । त्यसपछि सीडीओ कार्यालयमा मिटिङ गरेर हामीले राप्रपालाई तपाईंहरुले नै यसलाई झिकिदिनुस्, पृथ्वीनारायण शाहको पूर्णकदको सालिक विभूति पार्कमा राखिएको छ भनेर सम्झायौं । विभूति पार्क सहिद र विशिष्ट व्यक्तित्वहरूको सालिक राख्नकै लागि बनाइएको हो ।

त्यतिबेला नै पोखरामा भएका सबै सालिकहरू पार्कमा लैजाने भन्ने कुरा भएको थियो, तर उक्त निर्णयले पूर्णता पाएको थिएन । गएको फागुन २७ गते फेरि त्यहाँ पृथ्वीनारायण शाहको सानो प्रतिमा ल्याएर राखियो । हामीले यसलाई झिक्नुस भन्यौं । उहाँहरूले अनुकूल मिलाएर झिक्छौं भन्नुभएको थियो । तर, यो यत्तिकै सेलायो । न कोही झिक्नुस भन्न आयो न कोही राख्छौं भन्न आयो । यो त्यत्तिकै थियो ।

अस्ति जनजाति महासंघको कार्यक्रमको दिन एउटा समूहले पृथ्वीनारायण शाहको प्रतिमालाई झिकेर लगे । त्यसलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएर महानगरपालिकालाई बुझाइदियो । राप्रपाका साथीहरु आएर ‘यो हाम्रो प्रपर्टी हो’ भनेर मागेपछि नगर प्रहरीले कागज गरेर बुझाइभयो । उहाँहरुले फेरि लगेर त्यहीँ राख्नुभयो ।

यसबाट जनजाति महासंघ र राप्रपाबीच कुनै पनि बेला दुईपक्षीय झडप हुन सक्ने अवस्था देखियो । यसलाई रोक्न हामीले सर्वदलीय बैठक डाक्यौं । त्यसमा के सहमति भयो भने पृथ्वीनारायण शाहको सानो प्रतिमालाई त्यहाँबाट हटाएर सुरक्षित राख्ने र लखन थापाको सालिक पनि निकालेर विभुति पार्कमा स्थापित गर्ने ।

यो ठाउँ पृथ्वीचोक नै हो । लखन थापाको सालिक भए पनि जनमानसमा पृथ्वीचोककै नामले चिनिन्छ । अब ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको र सडक विस्तार भएर पनि आएकाले लखन थापाको सालिक विभुति पार्कमा लैजाउँ भन्नेमा जनजाति महासंघका साथीहरूले पनि समर्थन जनाउनुभएको छ । अर्को कुनै अवरोध आएन भने सहमतिअनुसार हामी एक महिनाभित्र सालिक त्यहाँबाट विभूति पार्कमा सार्नेछौं ।

सर्वदलीय बैठकमा राप्रपा, विश्व हिन्दू महासंघ लगायतका साथीहरू पनि हुनुहुन्थ्यो । पृथ्वीनारायण शाहको प्रतिमा झिक्ने कुरामा उहाँहरुले पनि सहमति जनाउनुभएको हो । तर, बाहिर आएर उहाँहरुले अरुलाई भन्न सक्नुभएन । हिजोबाट फेरि त्यो सहमति मान्दैनौं भन्ने कुराहरु आइरहेका छन् । अझै पनि हामी समझदारीमै अघि बढ्ने प्रयासमा छौं । सबैसँग छलफल चलाउँछौं ।

प्रतिमा मध्यरातमा हटाएको भन्ने जहाँसम्म कुरा छ, त्यो चाहीँ मलाई थाहा भएन । रातारात हटाए कि दिउँसो हटाए कि, उहाँहरु त कुरेरै बस्नुभएको थियो रे । प्रतिमा निकालेर स्थानीय प्रशासनले हामीलाई दिएको छ र हामीले सुरक्षित राखेका छौं । जे भए पनि महानगरले सहमतिमै काम गरेको हो । अहिले मलाई नानाथरि आरोप र लाञ्छना लगाउनुको कुनै तुक छैन । यो सबै निहु खोज्ने कुरा मात्र हो ।

पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुनुहुन्छ । उहाँको एउटा सानो प्रतिमा लखन थापाको खुट्टामा राख्दा शोभनीय पनि भइरहेको थिएन । अर्को कुरा, पृथ्वीनारायण शाह र लखन थापा हामी सबैका लागि साझा व्यक्तित्वहरु हुनुहुन्छ । पृथ्वीनारायण शाह राप्रपाको मात्रै, लखन थापा जनजातिको मात्रै भन्ने होइन । त्यसैले हामी नेपाली यसमा विभाजित हुनु हुँदैन भन्ने हाम्रो आग्रह हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *