भारतीय पर्यटकलाई २५ हजार मात्रै ल्याउन दिने कानूनले पर्यटन प्रवर्द्धनमा समस्या : गृहमन्त्री पाण्डेय

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउन सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

पर्यटकलाई आवातजावतमा सहजता प्रदान गर्नुपर्ने र पैसा खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्ने काममा सबैको समन्वय जरूरी रहेको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीको साधारण सभामा मन्त्री पाण्डेयले सरकारले पर्यटन सम्बन्धी नीति बनाउने र वातावरण निर्माण निजी क्षेत्रले गर्नुपर्ने बताए । उनले भने, ‘मर्यादा खोजेर हुँदैन । सामूहिक प्रयासले नै राष्ट्रको विकास हुन्छ । ’ उनले निर्वाचनमा सम्पूर्ण दलले गौतमबुद्ध र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा घोषणापत्रमा समावेश गर्ने गरेको उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचवटा अन्तर्राष्ट्रिय उडान हुन्छ भने कम्तीमा एउटा अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै प्रदेश सरकारले संघीय सरकारसँग पहल गरिरहेको उनले बताए । भारतीय पर्यटकले नेपालमा भारु २५ हजार मात्रै ल्याउन पाउने नियम व्यवहारिक नभएको भन्दै अर्थमन्त्रीसँग यस विषयमा कुरा राखिसकेको उनले बताए ।

उनले भने, ‘पर्यटनको माध्यमबाट श्रीलंकाको आर्थिक अवस्था सुधार भएको छ । त्यसैले पर्यटकलाई विभिन्न ठाउँमा जरिवाना र करका नाममा सास्ती दिनुहुँदैन, नेपालमा आएका पर्यटकले बढी भन्दा बढी खर्च गर्ने गरी वातावरण बनाउनुपर्छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई फूलैफूलको सहर बनाउने योजना रहेको बताए । उनले नेपालमा कम्तीमा भारु ५ लाख रुपैयाँ ल्याउन दिनुपर्ने बताए । नगरप्रमुख खानले भने, ‘पर्यटक हाम्रा पाहुना हुन्, पर्यटकलाई कम्तीमा पनि ३ दिन बस्ने वातावरण बनाउनुपर्छ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सिद्धार्थ सञ्जाल रुपन्देहीबाट खबरदारी र सहयोगको अपेक्षा राखेको बताए । उनले भने, ‘सरकारी संयन्त्रलाई खबरदारी र सहयोग गर्नुपर्छ ।’ उनले लुम्बिनी हामी सबैको सम्पत्ति भएको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सिद्धार्थ सञ्जालले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, कृषिका साथै निजी क्षेत्रको हकहितका लागि एकजुट भइ कार्य गर्नुका साथै भौतिक निर्माण, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा पनि काम गर्ने बताए । उनले उद्योगी व्यवसायीका समस्या, दैवी प्रकोपमा सहकार्य, सामाजिक उत्तरदायित्व हुने गरी सरकारी काममा ढिलासुस्ती, निर्माण कार्यमा गुणस्तरीयताबारे ध्यान राख्ने बताए ।

Comments

One response to “भारतीय पर्यटकलाई २५ हजार मात्रै ल्याउन दिने कानूनले पर्यटन प्रवर्द्धनमा समस्या : गृहमन्त्री पाण्डेय”

  1. babupoude777@gmail.com Avatar

    Sahi vannu vo
    25kvanda mathi lyauna nadiya sampurna casino banda gardiya vaigoni

Leave a Reply

Your email address will not be published. Required fields are marked *