आयूष्मान देशराजले अश्लील हाउभाउ देखाएको विदेशी युवतीको आरोप, बेलायतकी अभिनेत्रीले गरिन् समर्थन

काठमाडौं । अभिनेता आयूष्मान देशराज जोशीमाथि एक युवतीले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । आयूष्मानले आफूलाई अश्लील हाउभाउसहितको भिडिओ पठाएर आजित पारेको उनको दाबी छ ।
इन्स्टाग्राममा १ लाख ४३ हजारले पछ्याएको ritasaengkawra आईडीबाट आयूष्मानको एउटा छोटो भिडिओ क्लीपसहित धाराप्रवाह स्टोरी हाल्दै आरोप लगाइएको हो । भिडिओ क्लीपमा आयुष्मानले मोबाइलमा हेर्दै जिब्रो निकालेर अश्लील संकेत गरेको देखिन्छ ।

फलोअर्सको संख्या हेर्दा यो आइडी फेकजस्तो लाग्दैन । रितालाई नेपालकी अभिनेत्री अदिती बुढाथोकीले पनि फलो गरेकी छन् । उनी एक विदेशी युवती भएको बुझिन्छ । उनले आफ्नो इन्स्टामा ‘हट’ फोटो र भिडिओ बग्रेल्ति हालेकी छन् । आफूलाई ‘सुसी मास्टर’ का रुपमा चिनाएकी छन् । ‘सुसी’ एक जापानी खाना हो, जुन बनाउनेलाई ‘सुसी मास्टर’ भन्ने गरिन्छ । जागीर नपाएको बेलामा आफू वेटरका रुपमा पनि काम गर्ने गरेको उनले बताएकी छन् ।

‘म एउटा मिहिनेती केटी हुँ । कहिलेकाहीँ जागिर नपाउँदा वेट्रेसका रुपमा पनि काम गर्छु । कृपया मलाई जथाभावी भन्न बन्द गरिदिनुस् । कहिलेकाहीँ मसित आफ्नो घर जानका लागि फ्लाइटको पैसा पनि हुँदैन । म हरेक दिन संघर्ष गरिरहेकी छु । तर, यी पुरूषहरू सोच्छन् कि उनीहरू जे पनि भनिदिएर उन्मुक्ति पाउन सक्छन्,’ उनले इन्स्टामा लेखेकी छन् ।

रिताको दाबीअनुसार उनले यस्तो भिडिओ नपठाउनु भन्दा पनि आयुष्मानले पठाइरहन्थे । यो भिडिओ सार्वजनिक गरिदिएपछि आफूलाई ज्यान मार्ने धम्की आइरहेको पनि उनको भनाइ छ ।

उनले लेखेकी छन, ‘मलाई इन्स्टाग्राममा मानिसहरूबाट ज्यान मार्ने धम्कीहरू आइरहेका छन् । के तपाईँहरूलाई लाग्छ कि मैले उनीहरुको पर्दाफास गर्दा यस्तो परिणाम भोग्नुपर्छ भन्ने ? म अनलाइन र अफलाइनमा हुने यौन उत्पीडनमा परेका सबै महिलाहरूलाई सशक्त बनाउन चाहन्छु ।’

रीता थप्छिन्, ‘जो पुरुषले मलाई म केवल फ्यान गर्ल हुँ वा एस्कर्ट (यौन व्यवसायी) हुँ भनिरहेका छन, उनीहरूलाई म त्यस्तो हैन भन्न चाहन्छु । तर, यदि म फ्यान गर्ल नै भए पनि, मलाई यौन दुर्व्यवहार गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन ।’

अर्को स्टोरीमा उनले लेखेकी छन्, ‘म सेन्ट ट्रोपेज (फ्रान्स) बाट इबिजा जाँदैछु । यदि मलाई केही भयो भने त्यो दुर्घटना वा आत्महत्या हुनेछैन । र, म मलाई फोहोरी भिडिओ पठाउने मानिसहरूसँग राम्रो रूपमा नै प्रस्तुत हुनेछु ।

रीतालाई अभिनेत्री तथा मोडेल गेब्रिएला राइटले समर्थन जनाएकी छन् । गेब्रिएलाको अकाउन्टमा ब्लु टिक छ । रिताको स्टोरी शेयर गर्दै उनले ‘रीता र नेपालका महिलाहरूको साथमा’ लेखेकी छन् ।

गेब्रिएला राइट बेलायतकी अभिनेत्री र मोडेल हुन्, जो द ‘ट्युडर्स’ नामक श्रृंखलामा ‘क्वीन क्लाउड अफ फ्रान्स’, चलचित्र ‘द परफेक्ट हसब्यान्ड’मा भिओला र एक्शन थ्रिलर जनरामा निर्मित ‘द ट्रान्सपोर्टर रिफ्युल्ड’ मा जीनाको भूमिकाले परिचित छिन् । अभिनय र मोडलिङ करियरका अतिरिक्त, उनी एक अधिकारकर्मी हुन् जसले लैङ्गिक हिंसा र आत्महत्या रोकथामका निम्ति धेरै अन्तर्राष्ट्रिय अभियानहरूमा योगदान दिएकी छन् ।

रिताले लगाएका आरोपहरुबारे हामीले अभिनेता आयूष्मानसँग बुझ्ने कोसिस गर्‍यौं । तर, तीन दिनदेखि प्रयास गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

Comments

One response to “आयूष्मान देशराजले अश्लील हाउभाउ देखाएको विदेशी युवतीको आरोप, बेलायतकी अभिनेत्रीले गरिन् समर्थन”

  1. दिनेश कुमार लामा Avatar
    दिनेश कुमार लामा

    काम वासानामा नै लिप्त भएर सकिन्छ यो परिवार ।आमा ,छोराहरु ,बुहारी सबै उस्तै एक से एक ।आशक्तिले मान्छे मेटाउने नै हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *