प्युठानको हंसपुर बृहत खानेपानी योजना तयार

रुपन्देही । प्युठानको सरुमारानी गाउँपालिका वडा नं ३, हंसपुरमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट साबिक हंसपुर गाविसका वडा नम्बर १,२,३ र ४ को डाडाटोल, गाहाचौपारी, गोठेरी सजिकोटका ३ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

गाउँपालिकाको ४ करोड ४३ लाख ३८ हजार ६०२ को लागतमा सो आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘पालिकाका सबै घरमा पानीको धारा पुर्‍याउने लक्ष्य छ ।’

उनका अनुसार तीन किलोमिटर तलको माडीखोलाबाट लिफ्टिङ गरेर ६ सय मिटरमाथि डाँडामा पानी ल्याइएको छ। यहाँ पानी जम्मा गर्न सातवटा ट्याङकी बनेका छन् । त्यहीँबाट पाइपलाइन बिछ्याएर गाउँमा खानेपानी पुर्‍याइएको छ। आर्थिक वर्ष २०७४र०७५ बाट योजना सुरु गरिए पनि कोरोना लगायतका कारण काममा ढिलाइ भएको थियो। यसपालि घरघरै पानी आएको खुसीयालीमा बाजागाजासहित स्थानीयले उत्सव नै मनाए।

खानेपानी आयोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री तुलसीराम शर्माले आयोजनाको संरक्षण र रेखदेखमा ध्यान दिन आग्रह गरे।

वर्षौँदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी भएको वडाध्यक्ष भीमबहादुर मर्साङ्गीले बताए।

गाउँपालिका अध्यक्ष विश्वकर्माले अहिलेसम्म पालिकाभरका दुई हजार ६ सय ६६ घरमा पानीको धारा पुगेको र तीनवटा ठूला आयोजना निर्माणाधीन अवस्थामा रहेको सुनाए।

स्थानीयको धेरै मेहनत र लगानीमा योजना निर्माण भएको उल्लेख गर्दै अध्यक्ष विश्वकर्माले दीर्घकालीन रूपमा खानेपानीलाई टिकाउन सबैको सहयोग जरुरी रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *