रुपन्देही । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजनामा दुईदिने धर्म, ज्योतिष तथा वास्तु सम्मेलन २०८० सुरु भएको छ ।
सम्मेलनको उद्घाटन मुक्तिनाथ धामका संरक्षक ब्रह्मनिष्ठ सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले गरेका थिए । उनले सम्मेलनलाई ज्ञानको सागरमा दर्शन र स्नान हुने अवसरका रुपमा कार्यक्रम महत्वपूर्ण भएको बताए ।
धर्म सभा आफैंमा पूर्ण हुने भन्दै उनले ज्योतिषलाई चिन्तन र मनन गरी व्यवहारमा लागू गर्न सुझाव दिए । ज्योतिष विद्या महत्वपूर्ण विषय भएको भन्दै उनले विश्वमा नै यो विद्या अहिले मुख्य आकर्षणको विषय भएको दाबी गरे । ज्योतिष सिद्धान्त सबैभन्दा पहिले उत्पत्ति भएको दाबी गर्दै उनले यो नै विज्ञान भएको दाबी गरे ।
सम्मेलनमा सहभागीहरुले ज्योतिष विद्याको आकर्षण बढेको जोड दिएका थिए ।
हिन्दू धर्मावलम्बीहरुले मान्ने आसौच, ज्योतिषशास्त्र र वास्तुशास्त्रका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्न भन्दै बुटवलमा पहिलोपटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन २०८० आयोजना गरिएको हो ।
कार्यक्रममा चैतन्य कृष्ण, प्रमुख वक्ता देवमणी भट्टराई, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल, समाजसेवी टंक पराजुलीले विश्वमा नै फलित ज्योतिषले मानिसहरुको भूत, वर्तमान र भविष्य बताउने हुँदा त्रिकालदर्शी मानिने दाबी गरे ।
कार्यक्रममा प्रमुख वक्ता देवमणी भट्टराईले ज्योतिष परामर्श केन्द्र वास्तवमा रिसर्च सेन्टर भएको दाबी गरे । जहाँ नयाँ नयाँ अध्ययन र अनुसन्धान हुने उनले बताए ।
धर्मशास्त्र अन्तर्गत आशौच परिचय र निर्णयहरु प्रा. डा. देवमणि भट्टराई, ज्योतिष शास्त्र अन्तर्गत वैदेशिक यात्रा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल तथा वास्तु र जीवनको बारेमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रम निष्कर्ष निकालेर घोषणापत्र समेत जारी गरिने र मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।
हिन्दू धर्मावलम्बीहरुले मान्ने आशौच, ज्योतिषशास्त्र र वास्तुका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्ने र निचोड निकाल्ने गरी कार्यक्रम गरिएको नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य एवं सम्मेलन व्यवस्थापक सुन्दर भण्डारीले बताए । कार्यक्रममा ५ सय सहभागी रहेको उनले बताए ।

Leave a Reply