करका नाममा ढाड सेक्दै पोखरा महानगर, एकै वर्षमा ५० प्रतिशतभन्दा धेरै बढाइयो मालपोत तथा भूमिकर

पोखरा । पोखरा महानगरका वडा नम्बर १० का एकजना बासिन्दाले गत आर्थिक वर्षमा सम्पत्ति, मालपोत तथा भूमिकर करबापत १६ हजार ४१० रुपैयाँ महानगरपालिकालाई बुझाएका थिए । उही सम्पत्तिको यसपालि उनले २५ हजार ८८ रुपैयाँ तिरेका छन् ।

महानगरपालिकाले करको दर वृद्धि गरेको छैन । तर, जग्गाको मूल्यांकन बढेसँगै करको भारी बढेको हो । उनको सम्पत्तिको मूल्यांकनको मूल्य बढ्दा सम्पत्ति कर अघिल्लो आर्थिक वर्षभन्दा ५० प्रतिशतभन्दा धेरै तिर्नुपर्‍यो ।

धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत थोरै शीर्षकमा वृद्धि गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक राजस्वका सबै शीर्षकमा केही वृद्धि गरेको छ । व्यवसाय करमा ‘क’ वर्गको वित्तीय संस्था वा वाणिज्य बैंकदेखि सहकारी बैंक शाखा कार्यालयका लागि १० प्रतिशतले वृद्धि गरेको छ ।

सहकारी संस्थाको व्यवसाय करमा भने १५० प्रतिशतसम्म वृद्धि भएको छ । २ सयसम्म सदस्य भएका बचत तथा ऋण सहकारी संस्थाले वार्षिक २ हजार कर बुझाए पुग्थ्यो । तर, यो आर्थिक वर्षमा उक्त कर वृद्धि भएर ५ हजार पुगेको छ । १ हजारसम्म सदस्य भएका बचत तथा ऋण सहकारी संस्थाको व्यवसाय कर १० हजारबाट १२ हजार पुगेको छ ।

सो आर्थिक ऐनले महानगर क्षेत्रभित्र रहेका तालहरुबाट माछा निकाल्दा कर तिर्नुेपर्ने व्यवस्था गरेको छ । ऐनले एक केजी बराबर ६ रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको हो । महानगरको क्षेत्रभित्र फेवाताल, बेगनास, रुपा, दिपाङ, खास्टे, मैदी, न्युरोनी, गुँदे र कमलपोखरी पर्छन् ।

अघिल्लो आर्थिक वर्षमा तालबाट माछा निकालिएको प्रतिकेजी ५ रुपैयाँका दरले राजस्व बुझाउनुपर्ने हुन्थ्यो । यस आर्थिक वर्षदेखि एक रुपैयाँले राजस्व वृद्धि भएको हो । महानगर क्षेत्रभित्र सञ्चालित उद्योग, व्यापार र व्यवसायमा लाग्ने करको दरमा पनि वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्षको तुलनामा ५ हजारसम्मले बढेको छ । १० करोडदेखि २० करोडसम्म लगानी पुँजी भएका उद्योग, व्यवसायहरूले वार्षिक रुपमा ३५ हजारको सट्टा ४० हजार रुपैयाँ राजस्व बुझाउनुपर्नेछ । २० करोडभन्दा बढी लगानी भएका उद्योग व्यवसायको कर पनि ५ हजारले बढेर ५० हजार पुगेको छ ।

आर्थिक ऐन २०८० को दफा ७ मा प्राकृतिक स्रोत साधन बिक्रीको व्यवस्था गरिएको छ । ‘पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र उपलब्ध हुने प्राकृतिक स्रोतहरू ढुंगा, गिट्टी, बालुवा, चुनढुंगा, दहत्तर, बहत्तर आदिमा अनुसूची १० बमोजिम न्यूनतम दर कायम गरी बिक्री गरिनेछ,’ यो दफामा भनिएको छ । तर, अनुसूची १० मा महानगरले तोकेको न्यूनतम दर अघिल्लो आर्थिक वर्षको भन्दाबढी छ ।

राजश्व तथा आन्तरिक व्यवस्थापन शाखा प्रमुख तथा महानगरका सूचना अधिकारी किरणप्रसाद कोइरालाले जग्गाको मुल्यांकन बढ्न करमा वृद्धि हुन पुगेको बताए ।

‘सम्पत्ति कर अलिकति वृद्धि भएको देखिएको छ । जग्गाको न्युनतम अनुपात बढेकै हो । कसको जग्गा कति छ त्यो अनुसार कर वृद्धि भएको हो । धेरै हुनेको धेरै बढेको छ । थोरै हुनेको थोरै बढेको छ,’ उनले भने ।

ढुंगा, गिट्टी, बालुवा, चिप्स एक घनमिटर बिक्री गर्दा महानगरले अघिल्लो आर्थिक वर्षमा ७ सय १० रुपैयाँ कर लिन्थ्यो । यो वर्षदेखि भने यो दर १ सय १० ले बढेर ८ सय २० पुगेको छ । ग्राभेल/पुरुवाको शुल्क ३ सय बाट बढेर ३ सय ५० पुगेको छ । एक घनमिटर माटो बिक्री गर्दा २०० रुपैयाँ बुझाए पुग्नेमा साउनदेखि २ सय ४० बुझाउनुपर्ने व्यवस्था आएको हो ।

आन्तरिक स्रोतबाट मात्रै योख आर्थिक वर्षमा २ अर्ब २७ करोड ८७ लाख संकलन गर्ने लक्ष्य महानगरले लिएको छ । महानगरले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

 

Comments

One response to “करका नाममा ढाड सेक्दै पोखरा महानगर, एकै वर्षमा ५० प्रतिशतभन्दा धेरै बढाइयो मालपोत तथा भूमिकर”

  1. Manoj Subedi Avatar
    Manoj Subedi

    मतदाता लाई खाली करदाता बनाउँदैछ महानगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *