नाबालिगको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका राई २० वर्षपछि पक्राउ

हेटौडा । पाँच वर्षीया नाबालिगलाई बलात्कार गरी ढुङ्गाले किचेर हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले नाबालिग बलात्कार गरी ढुङ्गाले किचेर हत्या गर्ने हेटौँडा उपमहानगरपालिका वडा नं ११ सिमलटार बस्ने ४५ वर्षीय सोम बहादुर राईलाई २० वर्ष पछि पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले राईलाई ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ बाट पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार राईले विसं २०६० असोज १८ गते हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित राप्ती खोलामा बलात्कार गरी ढुङ्गाले किचेर हत्या गरेका थिए ।

त्यसको भोलिपल्ट नाबालिग मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *