काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गरेका छन् ।
नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरवेसको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताए ।
उनले सेनाको हवाई सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्नेतिर बढी ध्यान दिन पनि आग्रह गरे ।
अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले सधैं उच्च मूल्याङ्कन गरिरहेको बताए ।
रक्षामन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक परिस्थितिमा होस् वा विपद् तथा उद्धारका काममा रातदिन खटिएर काम गरेकोमा नेपाली जनताले सधैं सम्मान गर्ने बताए ।
नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन र कार्यरत जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैं तयार रहने उनको भनाइ छ ।
‘तपाईंहरु एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ । तपाईंहरुको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस्’, उनले भने ।
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टरहरु २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए । ‘जहाज मर्मत गर्दा लामो समय ग्राउण्डेड भएर बस्नुपर्ने अवस्था नहोस्, सबै काम पारदर्शी रुपमा छिटो छरितो होस्, त्यसका लागि नीतिगत रुपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैं तयार रहन्छ’, उनले भने ।

Leave a Reply