लम्पीस्किन भ्याक्सिन खरिदमा चलखेल, निथलिङको ठाउँमा किन ल्याइँदैछ ‘गट पक्स’ ?

काठमाडौँ । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ ।

नेपालका पशुमा लम्पीस्किन नामक रोग फैलिरहेको छ । लम्पीस्किन रोग पक्साइरिटी परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातिको लम्पीस्किन रोगका कारण अत्यधिक संख्यामा गाई भैँसीहरुमा संक्रमण भएर किसानले ठूलो क्षति व्यहोरेका छन् ।

यस्तो रोगको लागि विश्व स्वास्थ्य संगठनले नेथलिन स्ट्रेन भ्याक्सिन प्रमाणित गरेको छ । नेपालले पनि यही भ्याक्सिन प्रयोग गर्दै आइरहेको छ । तर, महामारीलाई पैसा कमाउने माध्यम बनाउन केही बिचौलियाले सरकारी अधिकारीहरूलाई प्रभावित पारेर ‘गट पक्स’ भ्याक्सिन ल्याउने प्रयास गरेका छन् ।

जुन भ्याक्सिन नेपालमा हुँदै नभएको रोगका लागि हो । यो भ्याक्सिन भेडाबाख्राको लागि मात्र भएको विज्ञहरूले बताएका छन् । जबकि अहिले नेपालमा भेडा बाख्रामा गट पक्स रोग देखा परेकै छैन ।

पशुसेवा विभागका एक अधिकारीले मापदण्ड विपरीत त्यस्तो भ्याक्सिन ल्याउने तयारी भएको बताएका छन् । विभागले गटपक्सका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई केही दिन अघि मात्र सो भ्याक्सिन आयातका लागि सिफारिस गरेको छ ।

जैविक पदार्थ सम्बन्धी भेटनरी मापदण्ड २०६३ अनुसार जुन रोग र स्ट्रेन नेपालमा विद्यमान छैन त्यस प्रकारको भ्याक्सिन आयात गर्न पाइँदैन । तर अहिले सरकार त्यहि काम गरेर केही कमिसन एजेन्टको प्रभावमा परेको छ ।

‘अहिले नेपालको विद्यमान अवस्था भनेको लम्पीस्किन हो जुन गटपक्सले काम गर्दैन, गटफक्स नै नभएको देशमा भ्याक्सिन आउँदा त भाइरस भएको आउने हो । त्यसले फेरि यो रोग लाग्यो भने ८० प्रतिशतसम्म मृत्युदर रहन्छ । हामीसँग भएका भेडा बाख्रा सबै सकिन्छन्’, ती अधिकारीले नेपाल प्रेससँग भने ।

भारतले गटपक्स प्रयोग गरेको भएर नेपालमा पनि सो भ्याक्सिन ल्याउन खोजिएको तर्क समेत गरिएको छ । यदि उक्त भ्याक्सिन ल्याउने हो भने मापदण्ड नै संशोधन गर्नुपर्ने उनले बताए ।

हालसम्म नेपालमा तीनवटा कम्पनी मार्फत जोर्डन, टर्की, तान्जानियाबाट १२ लाख भ्याक्सिन आइसकेको छ । जोर्डनबाट प्रति भ्याक्सिन १४० रुपैयाँ, टर्कीबाट १२५ र तान्जानियाबाट ११० रुपैयाँ प्रति भ्याक्सिन किसानलाई खरिद मूल्य पर्छ ।

जोर्डनको जोभ्याक, टर्कीको डलभेट र तान्जानियाको हेस्टर वायो साइन्सेस तान्जानिया नामक भ्याक्सिन नेपालले प्रयोग गरिरहेको छ । यो भ्याक्सिन स्थानीय तह र प्रदेश सरकारले खरिद गर्दै आएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालय मातहतका निकायले भने खरिद नगरेको पशु सेवा विभागले जनाएको छ ।

कान्तिपुर भेट डिस्टब्युटरले तान्जानियाबाट, बनदेवी भेटले जोर्डन र लोटस भेटले टर्कीबाट भ्याक्सिन ल्याउँदै आएका छन् । गडपक्स हिटेरेलोगस भ्याक्सिन हो भने नेथलिन होमोलोगस भ्याक्सिन हो ।

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले केही दिन अघि विज्ञहरूसँग यही विषयमा छलफल गरेको र उनीहरूले मिश्रित प्रतिक्रिया दिएको बताए । विज्ञहरूसँगको सल्लाहमै मन्त्रालयमा गटपक्स ल्याउनका लागि विभागले सिफारिस गरेको उनले जानकारी दिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पनि गटपक्स ल्याउने तयारी भएको स्विकारेको छ । मन्त्रालयका सूचना अधिकारी प्रदीप भट्टराईले भारतबाट ल्याउँने कुरा भएको तर प्रक्रिया के कति अघि बढ्यो भन्ने आफुलाई थाहा नभएको बताए ।

मन्त्रालयका बरिष्ठ पशु चिकित्सक तथा लम्पीस्किन फोकल पर्सन डा. टपेन्द्र बोहोराले भारत र चीनमा गटपक्स प्रयोग भइसकेकोले सस्तो पर्छ कि भनेर ल्याउने तयारी भएको बताए ।

लम्पीस्किनले कस्ता पशु प्रभावित हुन्छन् ?

लम्पीस्किन रोग विशेष गरी गाई, गोरु, राँगा, भैँसी, पडापाडी, बाच्छबाच्छीमा लाग्छ। यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु प्रभावित हुन्छन् । हालसम्म प्राप्त तथ्यहरूका आधारमा यो रोग भेडा बाख्रामा लागेको देखिएको छैन। यो रोग पशुबाट मान्छेमा सरेको प्रमाण पनि भेटिएको छैन ।

लम्पीस्किन रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाई भैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिन्छ ।

देशका ७७ जिल्लामा लम्पीस्किन रोग देखा परेको छ । हालसम्म १० लाख ८४ हजार ६ सय ५६ गाई वस्तु यो रोगबाट प्रभावित भएका छन् । ५० हजार ६ सय गाइवस्तुको मृत्यु भएको छ छ । साढे तीन लाख डोज भ्याक्सिन लगाइसकेको हो । १२ लाख आयात भएको हो ।

Comments

One response to “लम्पीस्किन भ्याक्सिन खरिदमा चलखेल, निथलिङको ठाउँमा किन ल्याइँदैछ ‘गट पक्स’ ?”

  1. ksp pyl Avatar
    ksp pyl

    सबैभन्दा भ्रष्ट जिन्दगीभर सर्वहाराको भजन गाउने । सरकारमा गएपछि बजाउने । पहिला कालिमाटी र वालाजुको सटर अहिले भ्याक्सिन । हुन त अध्यक्षलाई पनि बाँडनुपर्छ रे । भर्खरै तीन चारदेशबाट उठतिमा गएर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *