विप्लव समूहका नेताले नामको पछाडि किन राखे ‘सी’ ? नागरिकतामा पनि थर फेर्न सरकारसँग लबिङ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेकपा नेताले नेताहरुको नामको पछाडि ‘सी’ राख्ने अभ्यास गरिरहेका छन् । असोजमा भएको कपिलवस्तुको शिवगढीमा गत असोज भएको नवौं महाधिवेशनपछि नेकपाका सबै नेताहरुले नामको पछाडि थरको सट्टा सी राख्न थालेका हुन् ।

जातको कारणले मानिसहरु विभाजित भएकाले त्यो प्रवृत्तिको अन्त्यको लागि आफूहरुले नामको पछाडि सी राख्न थालेको नेकपा नेता अनिल शर्माले बताए। महाधिवेशनमा महासचिवले राखेको प्रस्ताव अनुमोदन भएपछि अहिले कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

उनले भने, ‘सीको अर्थ कम्युनिष्ट भनिएको हो। धर्म राजनीति, आर्थिक सांस्कृतिक स्वार्थ अनेक किसिमले मान्छेलाई जातमा विभाजित गरियो। त्यसैले हामी मान्छे सबै एउटै हौं। विभाजित मनोविज्ञानमा कुनै पनि चिज राख्नुहुन्न भन्ने हाम्रो पार्टीको बुझाइ हो। त्यही भएकाले नामको पछाडि केही न केही जोड्नुपर्छ तर, के राख्ने भन्ने बहसको क्रममा ‘सी’ राखौं भन्ने भएपछि राख्न थालेका हौं ।’

असोजमा भएको नवौं महाधिवेशनबाट राख्न थालेको भएपनि अहिले प्रचारात्मक रुपमा पार्टीभित्र मात्रै लागू भएको बताए ।

उनले भने, ‘हामीले सरकारसँग नागरिकतामै सी थर राख्न पाइयोस् भनेर प्रस्ताव गर्दैछौं। त्यो प्रस्ताव सरकारबाट स्वीकार भयो भने थप प्रभावकारीक हुन्छ ।’

उनले अहिले अनौपचारिक रुपमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुमा छलफल चलाइरहेको भएपनि ठोस प्रस्तावको रुपमा अघि नसारेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *