गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन, अनिश्चितकालीन रौतहट बन्दको घोषणा

जनकपुरधाम । गौर हत्याकाण्डविरुद्ध आज रौतहटको गौरमा पीडितहरूले प्रदर्शन गरेका छन् । उनीहरूले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध समेत नाराबाजी गरे ।

गौर हत्याकाण्डपीडित संघर्ष समितिले घटनामा दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको हो । समितिका संयोजक रुपसागर देवीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मुख्यदोषी उपेन्द्र यादवलाई कारबाही गर, पीडितलाई न्याय देऊ, हत्यारालाई बचाउन पाइँदैनजस्ता नारा लगाएका छन् ।

उनकै नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै रौतहट जिल्ला अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।

संघर्षका कार्यक्रम अनुसार आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भने साउन २ गतेदेखि १२ गतेसम्म पालिकाहरूमा गौर हत्याकाण्डबारे जानकारी गराउने एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीदपरिवार एवं पीडित धर्ना दिने, साउन १४ गते मोटरसाइकल रैली निकाल्ने र साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्द गरिने ज्ञापनपत्रमा उल्लेख छ ।

०६३ चैत ७ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रले गौर राइसमिलमा एकै समयमा एउटै ठाउँमा कार्यक्रम गर्दा झडप भएको थियो । जसमा प्रहरीसहित २७ जना मारिएका थिए ।

प्रदर्शनकारीले उपेन्द्र यादव नेतृत्वको जत्थाले जघन्य अपराध गरेको आरोप लगाइएको छ ।

उक्त हत्याकाण्डमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याई कारबाही नगरेकाले रौतहट जिल्ला प्रहरी कार्यालयमा ०६४ चैत २८ मा जाहेरी दर्ता भएको आज १७ वर्ष बितिसक्दा पनि कारबाही प्रारम्भिक चरणको काम पनि नभएको विज्ञप्तीमा उल्लेख छ ।

‘अपराधीहरूलाई वर्षौं वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडि नै अपराधीहरू खुलेआम घुमिरहेको देख्नुपर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको भन्दै ज्ञापनपत्रमार्फत दोषीलाई अविलम्ब कारबाही गरी न्यायको प्रत्याभूति गराउन माग गर्छौं’, ज्ञापनपत्रमा उल्लेख छ ।

Comments

One response to “गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन, अनिश्चितकालीन रौतहट बन्दको घोषणा”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    अहिले उपेन्द्र र माओवादी केन्द्र भन्नेको चोचोमोचो मिलेको छ। साथमा त्यहीँ गौरका माकु नेपाल पनि रौतहटका जनताको भावना विपरित उनिहरुसितै मिलेर समाजवादी (?) मोर्चा बनाएका छन् । यी सब जनबिरोधी हुन् ।माओवादी भन्नेले कसरी बिर्सन सकेको होला? यो संघर्ष समितिले माकुने ज्युलाई पनि प्रश्न सोध्नु पर्छ। एस पार्टीको महासचिव मनोनित गरिएका महान मार्क्सवादी, दार्शनिक कहलिएका त्रिभुज कामरेड घनश्याम भुसाललाई पनि गौर हत्याकाण्ड र उपेन्द्र सितको सहकार्य बारे एउटै प्रश्न सोधपुछ गरेको पाइएको छैन। जनताको मर्काको एउटा मात्र राम्रो प्रश्न गरेको पाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *