रुपन्देही । दुई दिनअघि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि भएको विवाद वार्तापछि सहमतिमा पुगेर साम्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पीडित र अस्पताल पक्षबीच घटनाको छानबिन गर्ने र घोराही उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएको हो ।
त्यस्तै पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको छ ।
यसै गरी पीडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका लागि आग्रह गर्ने दुबै पक्षबीच सहमति बनेको छ । शैक्षिक योग्यताअनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने पनि सहमति भएको जनाइएको छ ।
त्यस्तै अवरुद्ध अस्पतालको सेवा सुचारु गर्ने पनि सहमति भएपछि बालकको शव आफन्तले बुझी शुक्रवार नै अन्त्येष्टि गर्ने र मृतकको उपचारको क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले बेहोर्नका लागि कार्यकारी परिषदमा सिफारिस गर्ने सहमति भएको छ ।
छारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका घोराही ३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएपनि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको भन्दै आन्दोलन गरेपछि त्यहाँको सेवासमेत प्रभावित भएको थियो ।

Leave a Reply