काठमाडौं । २०७७ साल मंसिरदेखि पुस, माघसम्म म्याग्दीकी सपना रोका मगरलाई बधाइ थाप्न भ्याइनभ्याइ थियो । उनी चौतर्फी प्रशंसित बनिरहेकी थिइन् । कारण थियो– बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा उनको नाम समावेश हुनु ।
१०० सूचीमा पर्नुका पछाडि सपनाले दागबत्ती दिएका सयौं वेवारिसे लासहरु थिए । बेवारिसे लासहरुलाई वेबारिसे भइरहन नदिएर दागबत्ती दिँदै सदगद् गर्नु उनको दिनचर्या थियो । आफैं सडकमा वेबारिसे जीवनको आरोह, अवरोह गुजारेर आएकी सपनाले सडकभन्दा एक सिँढी माथि उक्लिएर बेवारिसे लासहरुलाई आर्यघाटमा पुर्याउँथिन् ।
यसैबीच बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा परेपछि परेपछि उनको चौतर्फी चर्चा बन्यो । धेरैका लागि उत्प्रेरणा बनिन् । १८ वर्षे कलिलो उमेरमा उनले गरेका कामहरु प्रशंसालायक त छँदै थिए ।

तर, सारा मानिसको चासोको केन्द्रमा रहेकी सपना अचानक विवादमा तानिइन् । उनीमाथि अनेकानेक टिकाटिप्पणी भए, सहनेसम्म सहिन् पनि । तर, उनको कलिलो धैर्यताले पनि थेग्न नसक्ने अवस्था आएपछि अचानक गायब भइन् ।
आठ–नौ महिनासम्म दृश्यबाट ओझेल परेकी सपनालाई त्यहीबीचमा अनेक रोगले जकड्यो । टन्सिल भयो । एपेन्डिक्स भयो । अस्पतालमा लामो समय बिताइन् । मानसिक तनावबाट पार पाउन आफैंले आफैंलाई समय दिइन् ।
यही बीचमा फेरि पशुपतिको आर्यघाटमा लास जलाउने काममा फर्किइन् । एक वर्षदेखि बेवारिसे लास जलाउने काममा सक्रिय रहेकी सपना अहिले भने थाक्न आँटेकी छन् । उनलाई ऋणको बोझले थिचिरहेको छ ।

नेपालप्रेससँगको कुराकानीमा सपनाले भनिन्, ‘बेवारिसे लास जलाउँदा जलाउँदै ८–९ लाख ऋण परेँ । यो ऋण कसरी तिर्नु ? ऋण दिनेहरुले घरमा बुवाआमालाई टर्चर दिइरहेका छन् । अब साउदी अरब जाने योजनामा छु ।’
नेपालमा जति राम्रो काम गरे पनि सबैले कुरै मात्रै काटेको उनको गुनासो छ ।
सपना थप्छिन्, ‘मेरो नीजि जीवन पनि छ । घरको जिम्मेवारी पनि छ । सामाजिक काम गर्दागर्दै मेरो स्वास्थ्यमा पनि एकदमै धेरै समस्या आइरहेको छ ।’
‘सरकारले गर्नुपर्ने काम हामीले गर्दा पनि हाम्रै विरोध गर्छन् । नेपाल सरकारले हामीलाई यहीँ बस्ने वातावरण मिलाइदिए हुन्थ्यो । हामीले गरेको काममा सरकारले पनि साथ दियो भने प्रेरणा मिल्थ्यो । नत्र विदेशिनुको विकल्प छैन ।’
आफू विदेश जाने कुरामा मानसिक रुपमा तयार भइसकेको उनी बताउँछिन् ।
‘नेपालमा काम गर्न सजिलो रहेनछ । मलाई नेगेटिभ कमेन्ट गरेर दुःख दिए । मैले कपडा लगाएकोदेखि मेरो शरीरको समेत जज गरिदिँदा मानसिक तनाव बढी नै भयो,’ उनले थपिन् ।

सपनाका थप भनाइ उनकै शब्दमाः
म २०५८/०७/०१ गते म्याग्दी जिल्ला बुकेनीमा आमा नरमाया मगर र बुबा जितबहादुर मगरको तेश्रो र अन्तिम सन्तानको रुपमा जन्मिएकी हुँ । एक दाई र एक दिदी छन् । सानैमा गाउको महेन्द्र माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेँ । कक्षा दशसम्म कहिल्यै दोश्रो भइनँ । भविष्यमा डाक्टर भएर बिरामीको सेवा गर्ने सपना थियो ।
१४ वर्षको उमेरमा नै माविसम्मको औपचारिक शिक्षा सकेर गाउँदेखि सदरमुकाम बेनि झरेँ । बेनिको (बेनि सामुदायिक उच्च मावि) मा अकाउन्ट विषय लिएर उच्च शिक्षा पढ्न थालेँ । आर्थिक अवस्था बुझेर डाक्टर बन्ने सपना मैले मारेकी थिएँ । म आफ्नै सपनाको हत्यारा हुँ । १४ वर्षको कलिलो उमेरमा कसैको विश्वासमा परेर नमिठो धोका पाएँ । विश्वास गरेको साथिबाट नै कल्पनै नगरेको धोका पाएपछि बुटवलको सडकमा पुगेँ । त्यसपछि चार महिनासम्म बुटवलको सडक र गल्लिहरुमा बास भयो ।
कहिले मन्दिरभित्र त कहिले सडकको गल्लीहरुमा मागेर दिन बिताउथेँ । यो मेरो जीवनको सबैभन्दा ठूलो सिकाई पनि थियो । यसो हुनुमा म कसैलाई दोष दिन्नँ । आफ्नो भाग्यको लेखान्त र आफ्नै दोष हो । बाटोमा बसेर माग्दा कम्तिमा गाडी भाडा मात्र जम्मा भए पनि टिकट काटेर आमा बाबु भएको ठाउसम्म पुग्न सक्छु भन्ने थियो । तर त्यो सपना कहिल्यै पूरा भएन । सडकमा माग्न थालेको ४ महिना भैसक्दा पनि न बस्न पाएँ न खाना पाएँ ।
दिनभरि कहिले मन्दिर त कहिले सडकमा मागेर बस्थेँ । रात परेपछी छट्पटी सुरु हुन्थ्यो । रातमा कुलतमा फसेका युवाहरुको भिड लाग्ने बुटवल सहरमा मलाई आफुलाई बचाउन गाह्रो थियो । राति–राति मलाई सडकमा देखेर अनेकन पटक बलात्कारको प्रयास भए । कहिले मारिने कहिले के हुने कुनै ठेगान थिएन । फुत्किन खोज्दा मेरो शरीरमा ती अपराधीहरुको नङ्ग्राहरुले बनाएको घाउहरु अझै छन् । ती घाउका डोवहरु मेट्न अहिले ट्याटु हानेको छु ।
‘यौन शिकारी’ को पञ्जाबाट बच्न बुटवलको प्रहरी वृत्तनजिक रात कटाउँथे । ४ महिनापछि जुत्ति निकालेर घर फर्किने उपाय खोजेँ । त्यो सबै घटनाबारे परिवार र गाउँ बेखबर थिए। त्यतिबेलासम्म मसँग मागेर जम्मा गरेका १५० रहेछ साथमा । मैले गाडीवालालाई ढाँटेर बुटवलबाट बेनीमा मेरो मान्छे छ उतै भाडा दिन्छु भनेर टिकट नै नकाटी बेनी आएँ । बेनीमा दिदी भेनाकोमा पुग्दा भेनाले समेत चिनेनन् मलाई । ४ महिना ननुहाएको बेवारिसे मगन्ते न थिएँ ।
मेरो हबिगत भेनाले बाहेक अरु कसैले देखेनन् । भेनाले एकसरो लुगा किनेर नुहाएर पहिलाकै सपना बनाएर घर पठाए । घरमा आमाबुबाको साथमा पुग्दा खुसी त मिल्थ्यो नै तर बिगतको घटनाले बिछिप्त भएँ । अब के गर्ने यसरी त हुन्न भनेर काठमाडौ हानिएँ । लकडाउनको केही समय अगाडि मात्र काठमाडौ आएकी हुँ । यता पनि लकडाउनको चपेटामा परिहालेँ । सातदोबाटोमा बाजेबजुको साहारा लिएर बसेँ । लकडाउनपछि सडकभरि चित्कार थियो ।
छरछिमेकिले मिलेर जम्मा गरेर सडकको भोकाहरुलाई खाना खुवाउने कार्यमा बाजेबजुको साथ लागेर बानेश्वर आसपास जाँदा बिनयजङ बस्नेतसँग भेट भयो । उहाँले अलिक पहिलादेखि नै समाजसेवा गर्दै आउनु भएको रहेछ । बिनयको कामबाट प्रभावित भएँ म । उहाँको प्रभावमा परेर कहिले खाना खुवाउन त कहिले बेवारिसे लास ब्यवस्थापनतिर व्यस्त हुन थालेँ । कोरोनाले कहिले मरिन्छ भन्ने वास्ता नगरी र कुनै स्वार्थ नराखी बेवारिसे लास ब्यवस्थापन गरिरहेको थिएँ । मेरो कामको मुल्यांकन गरेर बिबिसी नेपाली सेवाका नेपाल प्रतिनिधिले मेरा केही प्रमाण जम्मा गरेर शक्तिशाली महिलाको सुचीको लागि पठाएका रहेछन् । एक्कासी बिबिसिले सुची प्रकाशन गर्दा र बधाइको ओईरो लाग्दा विश्वास नै लागेन ।
तर, यता कोरोनासँगै तहसनहस भएको अर्थतन्त्रले गर्दा सहयोगी हातहरु खाली हुँदै गए । साथीहरु पनि टाढिँदै गए । कामको चाप बढ्दै गयो । त्यो बेला सबै सहज भएपछि तिरौंला भनेर लिएको ऋण पनि आठ–नौ लाख भइसकेछ । अहिले ऋण दिएका मान्छेहरुले गाह्रो बनाइरहेका छन् । ऋण तिर्न सकेकी छैन ।
अहिले मानसिक र शारीरिक रुपमा कमजोर बन्दै गएकी छु । आजभोलि स्वास्थ्यले पनि साथ दिन छाडेको छ । म आफैं बेवारिसे बन्दै गएकी छु । दैनिक बेवारिसे लास व्यवस्थापनको लागि कल आउँछन् । तर कसरी व्यवस्थापन गर्ने ? सहयोग आउने बाटाहरु सबै बन्द भएका छन् ।
बेवारिसे लास व्यवस्थापनको लागि म कहाँ मात्र पुगिनँ । पशुपति विकास कोषसँग कुरा गर्दा माथि निर्णय हुनुपर्छ भन्छ । अर्थमन्त्रालय, पर्यटन सस्कृती मन्त्रालय जाँदा कार्यबिधी बन्नु पर्छ भन्छन् । अनि महानगरपालिकासंग समन्वय गरेर काम गर्नलाई महानगर प्रमुख बालेन्द्र शाहसँग भेट्न खोज्दा समय नै पाइनँ । म निशुल्क स्वयंसेवकको रुपमा काम गर्छु वातावरण बनाइदेउ भन्दा कार्यबिधिले रोक्छ ।
दैनिक २१ वटासम्म लास जलाएकी मैले अहिले १० –१२ हजार लाग्छ एउटा लास जलाउन । त्यसमा थप ऋण तिर्नुपर्ने बाध्यता छ । माग्नु पनि कसलाई माग्नु ? एपेन्डिक्सको अप्रेसनबाट थला परेर भर्खर उठेकी हुँ । मेरो दुबै किड्नीमा पनि खराबी छ । उपचार गर्न पैसा छैन ।
स्वास्थ्यले साथ नदिए पनि अब साउदी अरब जाने योजना बनाएको छु । किनभने त्यहाँ छिटो भिसा लाग्छ भन्ने सुनेकी छु । मैले नजिकका आफन्तलाई पनि यसबारे बुझ्न लगाएकी छु ।

Leave a Reply