भारतसँग ८३ किमी खुला सीमा रहेको दाङमा सशस्त्र प्रहरीको सक्रियता

रुपन्देही । भारतसँग जोडिएको दाङको सीमा नाकामा एकैदिन नौवटा सशस्त्र प्रहरी बलका बिओपी उद्घाटन गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रको अर्नादेखि पश्चिमको भौवा नाकासम्म ८३ किलोमिटर सीमा सडक रहेको छ ।

देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्र्तगत साना ठूला गरी ३४ वटा नाका रहेका छन् खुला सीमा । भारतसँग जोडिएका यस्ता खुला सिमानाका कारण सो क्षेत्रका बस्तीहरू सुरक्षित थिएनन् । चोरी, तस्करी लगायतका गतिविधि मौलाएका थिए ।

सीमामा सशस्त्र प्रहरीको बीओपी नहँुदा चोरी तस्करी व्यापक हुन्थ्यो । तर, अहिले अवस्था केही फेरिएको छ । ‘वारपारमा कोही कसैको रोक थिएन । तर अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौँ ।’ राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले भने ।

केही वर्ष पहिले घरका पशुचौपायसमेत रहन्थेनन्, घर आँगनबाटै चोरी हुन्थ्यो । सबै खुला सिमाना भएकाले नेपाल बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएका छन् । सरकारले एक वर्षअघिदेखि सीमा क्षेत्रमा सशस्त्रका विओपीहरू स्थापना गरेको छ । पहिले कोइलाबास नाकामा मात्रै बिओपी थियो ।

जिल्लाका विभिन्न नौ स्थानमा एकैदिन सशस्त्र प्रहरी बलका बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले बताए ।

गढवा गाउँपालिका वडा नम्बर २ भौरेसाल, गढवा गाउँपालिका वडा नम्बर ८ मुसी, राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ, पटौली, सुख्खा र राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर, खांग्रा र राजपुर गाउँपालिका वडा नम्बर ७ छिग्रीया, भैसाही नाकामा सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले एकैदिन नौवटा नयाँ सशस्त्र (बिओपी) नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

बिओपी भवन उद्घाटन गर्दै नायब महानिरीक्षक खड्काले मातृभूमिको रक्षाका लागि सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबिसै घण्टा तैनाथ रहेको बताए ।

‘सीमा क्षेत्रको सुरक्षा गरी मातृभूमिको ऋण चुक्ता गर्न चाहन्छौँ, यसका लागि स्थानीयसँग न्यायोचित सम्बन्ध बनाई सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने कार्यमा लागेका छौँ’ उनले भने ।

उनले विगतमा सीमाको रक्षा आमनागरिक र प्रहरीको सीमा चौकीले मात्रै गर्दै आएको चर्चा गर्दै उनले हाल सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको काँधमा आएको बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशिलकुमार बैद्यले जिल्लाको शान्तिसुरक्षा र विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरीले प्रभावकारी रुपमा कार्य गरिरहेको बताए ।

सीमा स्तम्भको सुरक्षासँगै सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले अग्रणी भूमिका खेलेको उनको भनाइ छ । सीमा सुरक्षाका लागि पछिल्लो समय नेपाल सरकारले सक्रियता देखाएको छ ।

सीमा स्तम्भको विषयमा भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा केन्द्रित भएका बेला पछिल्लो समय सीमा क्षेत्रमा सशस्त्र प्रहरी ब्यापक तैनाथ परिचालन गरिएको हो । भारतसँग सीमा जोडिएको दाङको राप्तीको प्रवेशद्वारा कोइलाबास नाकामा पहिलो पटक सशस्त्रको बिओपी स्थापना गरिएको थियो ।

उक्त क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र टोली खटिएको थियो भने अहिले डिएसपीको नेतृत्वमा उक्त टोलीले नेपाल तथा भारतसंगको सीमा क्षेत्रमा नियमित गस्ती र निगरानी गरिरहेको छ । सीमा नाकामा सशस्त्र प्रहरी टोली खटिएसंगै खुला सीमा नाका क्षेत्रमा हुने चोरी तस्करी, भारतीय पक्षहरुले नेपाली वन क्षेत्र दोहन गर्ने कार्य रोकिएको छ । सशस्त्रको आफ्नै भवन निर्माणको कार्य सम्पन्न भएको छ । कोइलाबास नाकालाई गुल्मको रुपमा विस्तार गरिएको छ ।

खबरी, सुकौली र भौवा नाकामा फरवाट अब्जरवेसन बेस स्थापना भएको छ । भारतसंग सीमा जोडिएको जिल्लाको सीमा क्षेत्रमा पहिलो चरणमा १२ वटा, दोस्रो चरणमा ३ वटा तेस्रो चरणमा ६ वटा गरेर २१ वटा विओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।

एकैदिन सीमा नाकामा नौवटा स्थानमा बिओपी स्थापना भएसंगै सीमा सुरक्षामा सरकारले सक्रियता देखाएको भन्दै सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नाकाबासीले खुशी व्यक्त गरेको सो क्षेत्रमा पुगेका पत्रकार शिवु खनालले जानकारी दिए ।

यसरी सीमा सुरक्षाका लागि सशस्त्र बिओपी राखिएपछि सीमा क्षेत्रमा हुने अबैध क्रियाकलाप, चोरी तस्करी, अबैध सामग्रीहरु ल्याउनेजस्ता क्रियाकलाप न्यूनीकरण हुने उनको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *