जहाँ नो पार्किङको बोर्ड, त्यही रोकिन्छ गाडी

डोटी । ‘नो पार्किङ भनेकै ठाउँमा समेत गाडी पार्किङ गरिदिन्छन् ।’

डोटीको दिपायलमा व्यवसाय गरिरहेका सामाजिक कार्यकर्ता तेज डुम्रेले सामाजिक सञ्जाल फेसबुकमा एक फोटो पोष्ट गर्दै माथिको हरफ लेखे ।

फोटोमा नो पार्किङको बोर्ड लगाएकै ठाउँमा सवारीसाधन पार्किङ राखिएका छन् । निजीमात्रै हैन, सरकारी गाडीसमेत नो पार्किङ लेखिएकै ठाउँमा पार्क भएका फोटोमा देखिएको छ ।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्लामा सडकमै गाडी पार्किङ हुनु नौलो कुरा भने होेइन । विगतमा पनि पटक पटक यस विषयमा स्थानीयले गुनासो गर्दै आएका छन् । चर्चा हुँदा एक–दुई दिन प्रहरीले कडाइ गर्छ, विस्तारै फेरि पुरानै अवस्थामा फर्किने गरेको व्यापारीहरुको गुनासो छ ।

दिपायल सिलगढी नगरपालिकाले लामो समयदेखि नजिकै जग्गा भाडामा लिएर बसपार्क चलाउँदै आएको छ । तर, चालकहरु बसपार्कमा गाडी पार्किङ गर्नुको सट्टा सडकमै राख्छन् । यस विषयमा नगरपालिका र प्रहरी/प्रशासनले ध्यान नदिएको स्थानीयको आरोप छ ।

सडकको दायाँबायाँ लहरै गाडी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीय एक व्यापारी बताउँछन् । ‘ट्राफिक प्रहरीकै मिलेमतोमा सडकमै गाडी पार्किङ हुन्छन्’, ती व्यापारी भन्छन्, ‘होइन भने चालकहरुले यति हिम्मत गर्दैनन् ।’

उनले कुनै मन्त्री आउँदा एक मिनेटमै सडक खाली गराउन सक्ने ट्राफिक प्रहरीले अरु समयमा किन नदेखे जस्तै गर्छ भन्ने शंका आफूलाई लागेको बताए ।

सडकमै गाडी पार्किङले दुर्घटनाको जोखिम बढेको होटल व्यवसायी चेतन खड्का बताउँछन् । उनी व्यङ्ग्य गर्दै भन्छन्, ‘ट्राफिक प्रहरीको आँखामा कालो चस्मा लगाइएको हुन्छ, त्यही भएर उनीहरु दिउँसो देख्दैनन् ।’

प्रधानमन्त्री, मन्त्री, कोही पार्टीको नेता वा प्रहरीको हाकिम आयो भने गाडी पार्किङको त के कुरा, सडकमा कतै सानो ढुङ्गा पाए पनि टिप्ने ट्राफिक प्रहरीले चाहेमा सडकमा पार्किङ भएका गाडीहरु सहजै हटाउन सक्ने बताउँछन् कृष्ण खाती । उनी ट्राफिक प्रहरीले कमिसनको भरमा यस्तो गरेको आसय व्यक्त गर्छन् ।

आदर्श गाउँपालिका घर भएका यात्रु दानी बोहरा सडकमै गाडी पार्किङ गर्दा पैदल हिँड्ने बाटो पनि नरहेको गुनासो गर्छन् । उनी भन्छन्, ‘गाउँतिर आएका साधारण महिलाहरुलाई सडकमा हिँड्ने विषयमा पनि ज्ञान हुँदैन । त्यसै पनि उनीहरु अलमल पर्छन्, त्यसैमाथि सडकमा जताततै गाडी देखेपछि उनीहरु झन आत्तिन्छन् ।’

दुई÷चार दिनभित्रै सडकमा पार्किङ गर्न रोक्ने गरी आफूले तयारी गरिरहेको बताउँछन् जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज सुरज खड्का । ‘म आएको थोरै दिन भएको छ, मैले यस विषयमा छलफल गरिरहेको छु’, खड्काले भने, ‘सबै गाडीहरु बसपार्कभित्र राख्नेगरी व्यवस्थापन हुन्छ ।’

उनले सबै गाडीहरु एकै पटक हटाउन नसके पनि निश्चित गाडीहरु निश्चित समयका लागि मात्र सडकमा राख्न दिने गरी व्यवस्थापन गर्ने बताए । बसपार्कमा गाडी राखेपछि यात्रु पाइँदैन भन्ने भ्रम चालक र सवारीधनीलाई परेका कारण सडकमै पार्किङ हुने गरेको उनी बताउँछन् ।

ट्राफिक प्रहरीले मात्रै यो समस्या समाधान हुन नसक्ने तर्क गर्छन् सामाजिक कार्यकर्ता सच्चिदानन्द जोशी । ‘प्रहरीको डण्डाले मात्र अनुशासित हुने समाज वास्तवमा कहिल्यै अनुशासित हुँदैन’, उनी भन्छन्, ‘ट्राफिक प्रहरीले रबर समातिराखेसम्म तन्किरहन्छ, छोडेपछि फेरि त्यही पुग्छ ।’

उनी स्थानीय तहले नागरिक समाज संस्थाहरुमार्फत समुदाय परिचालन गरी नागरिक सचेतना बढाउन लाग्नुपर्ने बताए । उनी थप्छन्, ‘स्थानीय सरकार र नागरिक समाज जिम्मेवार नहुने, विचरा प्रहरी के गरोस् ?’

Comments

One response to “जहाँ नो पार्किङको बोर्ड, त्यही रोकिन्छ गाडी”

  1. Babu Avatar

    जहाँ नो पार्किङको बोर्ड, त्यही रोकिन्छ गाडी
    माफ गर्नु होला,
    नेपाल को सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ र विश्वब्यापीरुपमा चलन चल्ती अनुसारको ट्राफिक संकेत चिन्ह र फोटोमा देखिएको NO Parking board मिल्दैन ।सडकमा जस्ले पनि ट्राफिक संकेत राख्न मिल्दैन। प्रहरीले राखेको हो भने पनि त्यो चित्र मिलेन।नियम बमोजिम नराखिएको बोर्डलाई सरकारी मान्न मिल्दैन।
    कसैले नीजि राखेको बोर्डलाई प्रहरी ले कारवाही गर्न पनि भएन ।
    चित्र मात्र हेरेर लेखे। अरु स्थानिय निकाय र ट्राफिक प्रहरीले नियम बमोजीम कारवाही गर्न नियम सङ्गत जानु वेश हुनेछ।
    जयनेपाल
    dspretdbipin@gmail.com
    Kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *