जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अन्नुकुमार रायलाई पछाडि हात बाँधेर ‘यातना दिएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । मधेश प्रदेश प्रहरीले यस विषयमा छानबिन गर्न ५ सदस्यीय छानबिन टोलीसमेत बनाएको छ ।
अनुशासनविपरीतका क्रियाकलाप गरेपछि जिल्ला प्रहरी कार्यालयमा नै उनलाई हतकडी लगाएर राखिएको थियो । उनलाई थप यातना भने नदिइएको जिप्रकाको भनाइ छ ।
राय विवादित पृष्ठभूमि भएका प्रहरी जवान हुन् । उनले अनुशासन उल्लंघन गरेका कारण दुई वर्ष अगाडिसमेत कारबाही भोगेका थिए । प्रहरी बर्दीमा नै उनले मदिरा पसलबाट मदिरा चोरी गरेको भिडिओ सार्वजनिक भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतकाअनुसार लहान नगरपालिका २२ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट ‘भोड्का’ को बोतल चोरी गरेको आरोपमा उनीसहित तीनजना प्रहरीलाई निलम्बन गरिएको थियो ।
भिडिओ:
घटना विवरणअनुसार ०७८ जेठ ९ गते स्थानीय मदिरा पसलमा केही व्यक्ति मदिरा खाएर होहल्ला गरिरहेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय लहानबाट तीनजना प्रहरी सो पसलमा पुग्यो । प्रहरी पुग्नासाथ पसल सञ्चालक भागे । पसल सञ्चालक नदेखेपछि प्रहरी जवान रायसहितले भोड्काको बोतल झिकेर गोजीमा हालेका थिए ।
अनुसन्धानमा दोषी देखिएपछि ०७८ जेष्ठ १६ मा निलम्बनमा परेका रायलाई ०७८ साउन ७ मा २ ग्रेड घटुवासहित निलम्बन फुकुवा गरियो । त्यसको चार महिना नबित्दै उनले ०७८ कात्तिक ५ मा पहिलोपटक नसिहत पाएका थिए ।
अहिले फेरी उनी अनुशासनहीनताकै कारण विवादमा तानिएका हुन् । हात बाँधेर यातना दिएको उनको सार्वजनिक भिडिओबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएको छ । छानविन टोलीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ । सत्यतथ्य बाहिर आउन केही समय लाग्न सक्छ ।
तर सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूका अनुसार प्रहरी जवान राय स्वयम् दोषी छन् । रक्सी खाएर मनपरी गर्न थालेपछि हतकडी लगाएर नियन्त्रण गर्नुपरेको एसपी लिम्बूको भनाई छ ।
सिरहा प्रहरीले तयार पारेको रिपोर्टअनुसार ०८० असार २५ गते साँझ प्रहरी जवान रायले कमाण्डरलाई नभनी व्यारेक छाडेका थिए । नशा सेवन गरी सोही दिन कार्यालयमा आएपछि हवल्दार धर्मदेव यादवसँग उनले वादविवाद गरे । वादविवादका क्रममा हातपातको अवस्थासमेत सृजना भएपछि प्रहरी सहायक निरीक्षक इन्द्रजित ठाकुर, प्रहरी निरीक्षक हेमन्त राईसमेतले प्रहरी जवान रायलाई सम्झाइबुझाइ गर्ने प्रयास गरे । तर, प्रहरी जवान अपशब्द र गोलीगलौजमा उत्रे ।
‘उनी ‘मर्छु मर्छु’ भन्दै कार्यालयको गेटबाहिर करिब ५ सय मिटरसम्म भागे । सोक्रममा मोवाइल ड्यूटीमा रहेका प्रहरी जवान मिथिलेशकुमार यादवले बोकेको ३०३ लीईन्फिल्ड राइफलसमेत खोस्ने प्रयास गरे,’ जिल्ला प्रहरी कार्यालयको रिपोर्टमा उल्लेख छ ।
भाग्न खोजेपछि उनलाई ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक रमानन्द यादव कमाण्डको टोलीले नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउँदा असहज भएपश्चात उनलाई हत्कडी लगाएको रिपोर्टमा भनिएको छ ।
हतकडी लगाएको अवस्थामा सोधपुछ गरिरहेको बखतको भिडिओ सार्वजनिक भएको हो । उक्त भिडिओ कुनै प्रहरी जवानले नै मोवाइलमा कैद गरेका थिए । ती जवानले भिडिओ उपलब्ध गराएपछि रायले भाइ रजनीशलाई पठाए । र, रजनीशले नै दाई प्रहरी जवान अन्नुलाई यातना दिएको भन्दै न्याय माग्दै भिडिओ सेयर गरेको बुझिएको छ ।
उक्त भिडिओका कारण छानबिन टोली त गठन भयो । तर, अनुशासन उल्लंघन गरेको आरोपमा फेरि उनी नै कारबाहीमा पर्ने देखिएको छ ।

Leave a Reply