कहिलेकाहीं यस्तो लाग्छ, हामी तीन करोड नेपाली तीन करोड भेंडा हौं । अगाडि हिँडेको भेंडो भिरबाट हाम्फाल्यो भने त्यसको पछिपछि आउनेहरु पनि एक-एक गरी हाम्फाल्छन् रे (म आफैंले चाहिँ देखेको छैन) ! हामी पनि यस्तै प्रवृत्ति देखाउँछौं बारम्बार । एकजना टाठोबाठो उफ्रिएपछि ऊ पक्कै माथि नै पुग्यो होला भन्ठान्छौं र भटाभट सबै उफ्रिन्छौं । अनि एकसाथ हिलोमा पछारिन्छौं ।
यो प्रवृत्ति खासगरी सामाजिक सञ्जालमा अत्यन्तै सघन रुपमा देखिन थालेको छ । पक्कै पनि, मैले निकाल्न खोजेको ताजा प्रसंग ‘डा. तोसिमा कार्की काण्ड’ कै हो । उनले हिजो प्रधानमन्त्रीपत्नी स्व. सीता दाहाललाई पेरिसडाँडामा श्रद्धाञ्जली दिन जाँदा बोलेका केही क्लीपहरु सामाजिक सञ्जालमा भाइरल छन् । र, मानिसहरू मच्चिमच्ची उनलाई गाली गरिरहेका छन् । उनको अभिव्यक्तिलाई ‘अमानवीय’ संज्ञा दिइएको छ । त्यस्तो आपत्तिजनक के बोलेकी थिइन् त तोसिमाले ?
सर्वप्रथम पत्रकारले उनलाई सोधेको प्रश्न र तोसिमाले दिएको ‘विवादित’ जवाफ जस्ताको तस्तैः
पत्रकारः तपाईंले प्रचण्ड पत्नीको एकखालको प्रशंसा गर्नुभो, प्रचण्ड पनि श्रीमतीका लागि कति लागिपरे भन्ने उदाहरण छ । उहाँ श्रीमतीकै लागि हरेक समय आफ्नो समय त्याग गरिरहनु भएको थियो । यसलाई कसरी लिनुहुन्छ ?
तोसिमा: हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरु पनि आउनसक्छ । त्यो कारणले सायद मैले (उहाँ) ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु ।
अहिले पत्नीयोग (पत्नीवियोग) को दुःखमा पर्नुभएको छ । पुत्रको दुःख पनि भोग्नुभएको छ । त्यो बाबजुद प्रधानमन्त्री जस्तो पदमा बसेर (केही) गर्न खोजिराख्नुभएको छ, त्यसमा अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टीकाटिप्पणी नगरौं । उहाँलाई साथ नै दिनुपर्छ जनताले । अरु राजनीतिक हिसाबकिताब र राजनीतिक मुद्दाका कुराहरु त छँदैछन् ।’
हो, तोसिमाले श्रद्धाञ्जली दिन जाँदा मिडियालाई यस्तो प्रतिक्रिया दिइरहन आवश्यक थिएन । उनले अनावश्यक रुपमा लामो प्रवचन पनि दिइरहनु हुन्थेन । तर, उनको कोणबाट पनि सोचौं न !
यो भनाइ पहिलोपटक सुन्दा तपाईंले के बुझ्नुभयो ? सम्भवतः यही बुझ्नुभयो कि तोसिमाले श्रीमतीलाई पनि समय दिन र स्याहार्न नसक्ने प्रधानमन्त्रीले राष्ट्रका लागि के गर्न सक्लान् भन्ने छुद्र प्रश्न गरिन् ?
के यही नै भन्न खोजेकी हुन् त उनले ? अब एकपटक प्रश्न पनि सुन्नुस् र उत्तर दोहोराएर सुन्नुस् ।
प्रश्नकर्ताले नै भनेका छन् प्रधानमन्त्रीले आफ्नो श्रीमतीका लागि धेरै त्याग गर्नुभयो, यसलाई कसरी लिनुहुन्छ ?
के तोसिमाले प्रश्नकर्तालाई नकारेकी छन् त ? छैनन् । उनको भनाइको भाव के हो त ? अलिकतिमात्रै दिमाग लगाउँदा उनको आशय बुझिन्छ कि यदि प्रधानमन्त्रीले श्रीमतीलाई समय नदिएको भए वा राम्ररी हेरचाह गर्न नसकेको भए आफ्नै श्रीमतीलाई हेरविचार नगर्ने प्रधानमन्त्रीले राष्ट्रका लागि के गर्न सक्लान् भन्ने प्रश्न उठ्न सक्थ्यो । तर, प्रधानमन्त्रीले आफ्नो निजी जीवन र राजनीतिलाई ब्यालेन्स नै गर्नुभयो ।
मैले चाहिँ यही बुझें । आफैं सोचौं, न एउटा सद्दे दिमाग भएको व्यक्ति कसैको निधनमा श्रद्धान्जली र समवेदना दिन जाँदा शोकाकुल परिवारलाई उल्टै निम्छरो गाली गर्ने धृष्टता गर्छ ? उनले भाषा अलिकति मिलाउन नसकेकै हो । ‘प्रश्न उठ्नसक्छ’ भन्दा प्रश्न उठ्न सक्थ्यो’ भनेको भए अलि धेरैले बुझ्थे होला । प्रश्न नसुनी उत्तरमात्रै सुन्दा त आपत्तिजनक नै लाग्छ । टिकटकमा १५ सेकेन्डको भिडियो हेरेर ‘रिप’ हुत्याइहाल्ने जमातका लागि यो गतिलो खुराक हुने भइहाल्यो । तर, आफूलाई विशिष्ट श्रेणीका बौद्धिक ठान्ने अर्को जमात पनि अभिव्यक्तिको भाव नबुझी (वा बुझ पचाएर) तोसिमाको चरित्रहत्यामा उत्रिरहेको छ ।
हो, तोसिमाले श्रद्धाञ्जली दिन जाँदा मिडियालाई यस्तो प्रतिक्रिया दिइरहन आवश्यक थिएन । उनले अनावश्यक रुपमा लामो प्रवचन पनि दिइरहनु हुन्थेन । तर, उनले त्यहाँ गएर प्रेस मिट बोलाएकी त होइनन् । एकपटक उनको कोणबाट पनि सोचौं न !
पूरै हेर्दा त्यो अन्तर्वार्ताभरि तोसिमाले सीता र प्रचण्डलाई नराम्रो केही पनि भनेकी छैनन् । सीताको त खुलेरै प्रशंसा गरेकी छन् । तर, कसलाई फुर्सद छ सबै हेरिबस्ने ? १५ सेकेन्डको भिडियो हेर्यो, आरआईपी ठोकिहाल्यो ।
तपाईं एउटा नयाँ र शिकारु राजनीतिज्ञ हुनुहुन्छ । मानवीयताका हिसाबले प्रधानमन्त्रीकी पत्नीलाई श्रद्धाञ्जली दिन जानुभयो । तपाईंले सायदै सोच्नुभएको थियो कि त्यहाँ पनि ‘प्रेस’ को सामना गर्नुपर्नेछ । मिडियाले तपाईंलाई यसरी छोपे मानौं, गतिलै ‘कन्टेन्ट’ भेटेका छन् (कसैको मृत्युमा श्रद्धाञ्जली दिन आउनेहरुलाई झ्याप्पै छोपेर कन्टेन्ट निचोर्न खोज्ने पत्रकारहरु कुन स्तरका हुन् भन्ने प्रश्न सोध्ने चेष्टा नगरौं, नेपालमा पत्रकार प्रश्नभन्दा माथि छन्) । यदि तपाईं त्यहाँ प्रतिक्रिया दिन इन्कार गरेर सरासर हिँड्नुभएको भए पनि तपाईंको भिडियो भाइरल हुने थियो । ‘हेर यसको घमण्ड’, ‘नउम्रिँदै तीन पात’, ‘कत्ति चढिएकी आइमाई’ आदि इत्यादि कमेन्टको वर्षा भइहाल्थ्यो ।
अब यत्रा मिडियाले घेरेपछि जबरजस्ती केही त फलाक्नै पर्यो । सोधेको प्रश्नको ‘सारगर्भित’ जवाफ दिनै पर्यो । जवाफ दिँदै गर्दा, राम्रै बोल्न खोज्दा अलिकति जिभ्रो लट्पटियो । भाषागत त्रुटि भयो । त्यसपछि तपाईं सक्किनुभयो । छिनभरमै ‘दानव’ हुनुभयो ।
पूरै हेर्दा त्यो अन्तर्वार्ताभरि तोसिमाले सीता र प्रचण्डलाई नराम्रो केही पनि भनेकी छैनन् । सीताको त खुलेरै प्रशंसा गरेकी छन् । तर, कसलाई फुर्सद छ सबै हेरिबस्ने ? १५ सेकेन्डको भिडियो हेर्यो, आरआईपी ठोकिहाल्यो ।
त्यही अन्तर्वार्तामा तोसिमाले दिएको अर्को अभिव्यक्तिलाई पनि कतिपयले आलोचना गरेका छन् । जुन प्रश्न र उत्तर यस्तो थियो :
पत्रकार : प्रधानमन्त्री परिवारविहीन हुनुभएको छ, तपाईंले उहाँलाई के सुझाव दिनुहुन्छ ? (कस्तो फाल्तु प्रश्न हो यो ? तर सोधेपछि जवाफ दिनैपर्यो)
तोसिमाः प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने पटकपटक परिवारका सदस्यहरु श्रीमान/श्रीमती/छोराछोरी गुमाएका तमाम आमनागरिकका दुःखलाई पनि उहाँले सम्झिनुपर्छ । आफ्नै दुःखसरह बुझ्नुपर्छ । त्यसका लागि के गर्नुपर्छ, कसरी सम्बोधन गर्नुपर्छ भन्ने कुरा चैं प्रधानमन्त्रीको हैसियतमा रहेको, राष्ट्रले नै पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ र त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । आफ्नो परिवारका सदस्य गुमाएका सहिद परिवारलाई सम्झिनुपर्छ । यो भन्दै गर्दा हामीले दबाब होइन, उहाँप्रति समवेदना नै दिन खोजेको हो ।
यो भनाइप्रति सबैका आ-आफ्ना दृष्टिकोण हुन सक्छन् । माओवादी र जनयुद्धलाई समर्थन गर्नेहरुका निम्ति यो सुरुचिकर नहुन सक्छ । होइन भने उनले केही गलत बोलेकी छैनन् । आफ्ना छोरा, छोरी र श्रीमती विभिन्न रोग लागेर गुमाउँदा प्रचण्डलाई जति चोट लागेको छ, हिजो जनयुद्धमा अनाहकमा मारिएका १७ हजार नागरिकका परिवारलाई त्यो भन्दा कम चोट होला ? तर, प्रचण्डले आजसम्म कहिल्यै पनि यो नरसंहारप्रति क्षमायाचना त के सामान्य आत्मसमीक्षा पनि गरेका छैनन् । बरु सगर्व ‘५ हजारको जिम्मामात्रै म लिन सक्छु’ भनेर सार्वजनिक भाषण गरेका थिए ।
नेपालको सन्दर्भमा कुरा गर्दा पछिल्लो समय सामाजिक सञ्जालले धेरै मुद्दाहरुमा सरकारलाई झुकाएको छ । सूचना र विचारमा मेनस्ट्रिम मिडियाको एकाधिकार अन्त्य भएको छ । बरु मेनस्ट्रिम मिडियालाई नै सामाजिक सञ्जालले गाइड गर्न थालेको छ ।
तोसिमाले प्रचण्डलाई यत्ति भनेकी हुन् कि तपाईंले आफू पारिवारिक वियोगमा पर्दा ती नागरिकका परिवारलाई पनि सम्झिनुस् । यो म पनि भन्छु । प्रचण्डको अगुवाइमा भएको व्यक्तिहत्याको अभियानमा १७ हजार नागरिक मारिएकै हुन् । त्यो कलंकले उनलाई आजीवन छोड्ने छैन । पारिवारिक वियोगमा उनलाई सहानुभूति दिनेहरुले पनि ‘१७ हजारको हत्यारा’ भनेर मनको एउटा कुनामा त राखेकै छन् ।
अब कुरा गरौं सामाजिक सञ्जालको । हरेक नयाँ आविस्कारहरुले समाजमा केही न केही सकारात्मक परिवर्तन ल्याएका हुन्छन् । र, सँगसँगै त्यसका साइड इफेक्टहरु कालक्रममा देखिन थाल्छन् नै ।
स्मार्टफोन र सामाजिक सञ्जाल आएदेखि दुनियाँ बदलिएको छ । संसारभरका मानिसहरु आपसमा जोडिएका छन् । सबैले आफ्नो विचार/धारणा निशंकोच प्रवाह गर्न पाएका छन् । सूचनामा सबैको पहुँच पुगेको छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा पछिल्लो समय सामाजिक सञ्जालले धेरै मुद्दाहरुमा सरकारलाई झुकाएको छ । सूचना र विचारमा मेनस्ट्रिम मिडियाको एकाधिकार अन्त्य भएको छ । बरु मेनस्ट्रिम मिडियालाई नै सामाजिक सञ्जालले गाइड गर्न थालेको छ । तर, अर्कोतर्फ सामाजिक सञ्जालका दुष्प्रभावहरु पनि दिनदिनै बढिरहेका छन् । यो यस्तो धारिलो हतियार बन्न थालेको छ, जसले अत्यन्त मामुली गल्तीमा जोकोहीलाई जीवनमरणको अवस्थामा पुर्याउँछ । रातारात हिरो बनाउँछ, क्षणभरमै जिरोमा झारिदिन्छ । सबैको हाइहाइ खाएर सुतेको व्यक्ति ब्युँझँदा सबैको दुत्कार पाइरहेको हुन्छ ।
अहिले हातमा स्मार्ट फोन भएका प्रत्येक व्यक्ति आफूलाई पत्रकार र वकिलमात्र होइन, न्यायाधीश नै सम्झिन थालेका छन् । कसैलाई सानो आरोप लाग्नासाथ अदालतको फैसला प्रतीक्षा नगरिकन उसलाई सामाजिक सञ्जालले अपराधीको ठप्पा लगाइहाल्छ । भोलि अदालतले सफाइ दियो भने पनि त्यो ठप्पा मेटिनेवाला छैन । आरोप लागेपछि सकियो । यस्तै तरिकाले त नेपालमा कोही पनि मान्छे निष्कलङ्क बाँच्न असम्भव छ । कुलमान घिसिङ र सन्दुक रोइतहरु पनि एक दिन कुनै न कुनै आरोपले डामिनेछन् । सामाजिक सञ्जाल वास्तवमै खतरनाक हतियार बन्दैछ ।
अहिले हातमा स्मार्ट फोन भएका प्रत्येक व्यक्ति आफूलाई पत्रकार र वकिलमात्र होइन, न्यायाधीश नै सम्झिन थालेका छन् । कसैलाई सानो आरोप लाग्नासाथ अदालतको फैसला प्रतीक्षा नगरिकन उसलाई सामाजिक सञ्जालले अपराधीको ठप्पा लगाइहाल्छ ।
यही सामाजिक सञ्जाल हो, जसले गायिका समीक्षा अधिकारीलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको थियो । लगातार एक वर्षसम्म उनले ‘आरआईपी’ खाइरहिन् । आत्महत्याको मनस्थितिमा समेत पुगेकी उनले जसोतसो हिम्मत बटुलेर बाँचेकी हुन् ।
अहिलेको माहोल अर्कै छ । जब मिडियालाई समीक्षाले एउटा अन्तर्वार्ता दिइन्, माहोल यूटर्न भयो । उनीमाथि सहानुभूतिको भेल उर्लिन थाल्यो । अब सामाजिक सञ्जालको बाण पल शाहतिर फर्केको छ । हिजो यही सामाजिक सञ्जालले पललाई ‘रियल हिरो’ भन्दै उचालेको हो । अहिले राक्षस बनाइरहेको छ । पल शाहले भोलि कुनै भावुक अन्तर्वार्ता दिएपछि यो परिवेश पनि बदलिन सक्छ ।
सीता दाहालकै कुरा गरौं न ! मृत्युपछि उनको महिमामण्डन गर्ने प्रतिस्पर्धा छ । उनको योगदान र बलिदानीको गाथा गाउने काम भइरहेको छ । तर, सक्रिय जीवन बाँचुञ्जेल उनको छवि कस्तो थियो ? के अहिलेकी देउवा पत्नीभन्दा उनी कम अलोकप्रिय थिइन् ? उच्चपदस्थहरुको भेटवार्तामा हात बाँधेर उभिँदा शिष्टाचार नजानेको भनेर आलोचना भएकै हो । कहिल्यै हाँस्न नजानेको भनेर पनि ट्रोल गरिएकै हो । छोरा प्रकाश दाहाललाई पुल्पुल्याएर उनका उद्दण्ड हर्कतहरुलाई प्रश्रय दिएको तथा जेठी हुँदाहुँदै कान्छी बुहारी भित्र्याएको भनेर आरोप लागेकै हो । प्रचण्ड र पार्टीका अन्य नेताहरुमाथि हाइहुकुम गरेको भनेर टिप्पणी भएकै हुन् । सरकारी खर्चमा सिंगापुर र अमेरिकामा उपचार गर्न जाँदा विरोधका स्वरहरु उर्लिएकै हुन् ।
तर, जब बितिन् उनी एकाएक ‘उदाहरणीय नारी’ मा परिणत भएकी छन् । सरकारले उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्यो । राजकीय सम्मान उनले के आधारमा पाइन्, देशका लागि उनको योगदान के थियो भन्ने प्रश्न कसैले उठाएन । कसैको पनि मृत्युमा नकारात्मक कोणबाट चर्चा नगर्नु हाम्रो संस्कार हो । तर, राज्यले गर्ने कामकारबाहीहरु भनेका भविष्यका लागि पनि नजिर हुन्छन् । नेपालको संविधानले प्रधानमन्त्रीकी पत्नीलाई कुनै पनि औपचारिक हैसियत दिएको छैन । कतिपय देशमा राष्ट्रप्रमुखकी पत्नीलाई ‘फर्स्ट लेडी’ भन्ने गरिन्छ र त्यसबाहेक उनीहरुले निश्चित सम्मान पाउँछन् । तर, नेपालमा त्यो छैन । यदि त्यसलाई पछ्याउने नै हो भने पनि सीता दाहाल फर्स्ट लेडी होइनन् । राष्ट्रपति रामचन्द्र पौडेलकी पत्नी फर्स्ट लेडी हुन् । शोकको बेलामा सरकारले एउटा अभ्यास सुरु गरेको छ, नेतापत्नीको मृत्युमा राजकीय सम्मान दिने । तर, अहिले यसमा धेरै टिप्पणी नगरौं ।
एकपछि अर्को पारिवारिक वियोगले प्रधानमन्त्री प्रचण्डलाई पक्कै पनि विक्षिप्त बनाएको छ । त्यसमाथि आधा शतक सहयात्रा गरेकी, आफूलाई हरकदममा साथ दिएकी जीवनसंगिनी गुमाउनु सानो चोट होइन । मेरो पनि व्यक्तिगत समवेदना र सहानुभूति छ प्रधानमन्त्री प्रचण्डप्रति । उनी र उनको परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवानले दिऊन् ।

Leave a Reply