गृहमन्त्रीलाई ‘अमर प्रहरी’ पत्नीको प्रश्न- मेरा पति कसरी भए पीडक ?

दुई आत्माको मिलनपश्चात् जिन्दगी इन्द्रेणी जस्तै रंगीन र हराभरा हुन्छ भन्ने सोचेर २०५१ सालमा प्रेम विवाह गरेकी थिएँ । अन्तिम साससम्म एक अर्काको सारथि बन्ने सपना थियो, तर त्यो बीचमै टुंगियो ।

प्रहरी चौकी भाडसर, सर्लाहीमा दरबन्दी भएका मेरा श्रीमान् प्रहरी जवान ओमबहादुर कार्की काजमा प्रहरी चौकी हजारियामा कार्यरत हुनुहुन्थ्यो । २०५६ सालको चुनाव नजिकिएकाले घर पायक मिलाएर काजमा हुनुहुन्थ्यो । हजारिया चौकी र घरको दूरी दश मिनेट वरपरको थियो । सोही चौकीबाट गस्ती जाने क्रममा २०५६ बैशाख १९ गतेको साँझ साढे नौ बजे मकैबारीमा लुकेर बसेका तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणमा परेर ठाउँको ठाउँ ज्यान गुमाउनुभएछ ।

भोलिपल्ट बिहान पाँच बजे प्रहरीको भ्यान मेरो घरअघि रोकियो । मैले भ्यानमा नजर डुलाएँ । आफ्नो मान्छे नदेख्नेबित्तिकै मलाई शंका लाग्यो । अघिल्लो रात नजिकै गोली पड्किएको आवाज सुनेकी थिएँ । त्यही गोलीसँगै देशमा चलिरहेको त्यो विध्वंशकारी द्वन्द्वले मेरो जिन्दगीमाथि तुषारापात हानिसकेछ ।

त्यसपछि अचेत भएकी थिएँ रे म ! तीन दिनपछि मात्र आँखा खुलेको थियो । म पूर्ण रुपमा होसमा आउँदा मेरा वरिपरि क्रिया पुत्री र कुरुवाहरू थिए । मेरो हातमा सलाइन पानीको सुई थियो । सलाइन पानी चढाइएको थियो । नजिकै डाक्टर साहब हुनुहुन्थ्यो ।

यसो आफूलाई हेरें, म सेतो कपडामा बेरिएकी थिएँ । एकपटक फेरि चिच्याएर रोएँ । तर, जसरी भए पनि मैले आफूलाई सम्हाल्नु थियो । किनकि काखमा रहेकी एक वर्षकी छोरीको जिम्मेवारी मेरो काँधमा आएको थियो ।

हिजो चप्पल र एकजोर सर्ट पाइन्ट लगाएर लडाइँमा पस्नेहरू आज हाइ-प्रोफाइल बने । कम्युनिष्ट सिद्धान्त बोकेर लडाइँ गर्‍यौं भन्नेहरूमा कतै देखिन्न कम्युनिजम । न राजनीतिक दलसँग आवद्ध रहेका द्वन्द्व पीडितहरूले पाए न्याय न त राज्य पक्षका पीडितले पाएका छन् ।

हुन त म उहाँसँगै त्यतिबेला आधा मरिसकेकी थिएँ । कैयौंपटक जिन्दगीलाई विश्राम दिने सोच पनि मनमा नआएको होइन । मनमा अनेक कुरा खेल्थ्यो, ‘अब म उहाँविना कसरी बाँच्ने ? मेरो को छ ? छोरीको लालनपालन कसरी गर्ने ? श्रीमानको मृत्युपश्चात् त्यसको अपजस श्रीमतीलाई बोकाउने यो समाजसँग मैले जुध्न सकुँला ?’

मेरो मन फिटिक्कै स्थिर थिएन । दुवै आँखा कैयौं रात खुलै बसे । कुनै रात सिरानी ओभानो रहेन । तर, विचलित मनलाई सम्हाल्ने एउटैमात्र अस्त्र थियो, छोरीको मुहार !

गलत निर्णय लिएर आधा रातमा घर छोडेर खेतको बीचमा रहेको रुखको फेदमा पुगेपछि त्यही मायाको निशानी सम्झेर धेरैपटक घर फर्केकी छु म ।

सोच्थें, सरकार छ हेर्ला नि ! द्वन्द्वपश्चात् सरकारले द्वन्द्वबाट प्रभावित परिवारलाई व्यवस्थापन गर्नुपर्ने हो तर, गरेन । व्यवस्था परिवर्तनको नाम दिइए पनि लुटिखाने माध्यम जस्तै बन्यो यो व्यवस्था । हिजो चप्पल र एकजोर सर्ट पाइन्ट लगाएर लडाइँमा पस्नेहरू आज हाइ-प्रोफाइल बने । कम्युनिष्ट सिद्धान्त बोकेर लडाइँ गर्‍यौं भन्नेहरूमा कतै देखिन्न कम्युनिजम । न राजनीतिक दलसँग आवद्ध रहेका द्वन्द्व पीडितहरूले पाए न्याय न त राज्य पक्षका पीडितले पाएका छन् ।

वर्ष दिनको छोरी काखमा लिएर संघर्ष गर्न सुरु गरेकी २० वर्षे मैले कहाँबाट लेख्न सुरु गरौं ? ‘तँ लड्न जा, तँ बाँचे प्रमोसन, मरिस् भने तेरो परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ’ भनेर पठाएको राज्य किन मौन बस्यो ? यसरी नै आफ्नै भुँडी भर्नमात्र मारिएको हो १७ हजार निहत्था नागरिक ? खै हाम्रा सन्ततिलाई शिक्षाको ग्यारेन्टी ? खै रोजगारी ? शरीरभरि गोलीको छर्रा बोकेर हिँडेकाहरू दिनहुँ क्यान्सर, किड्नी फेल जस्ता समस्याले ज्यान गुमाइरहेका छन् । खै उपचारको ग्यारेन्टी ?

एउटी छोरीलाई उच्च शिक्षासम्म पुर्‍याउन मैले जति संघर्ष गर्नुपर्‍यो, त्यसको लेखाजोखा छैन । न शब्दमा लेखेर पूर्ण हुन्छ । मबाहेक १६ हजार ९९९ जनामध्ये एकभन्दा बढी सन्तान भएका आमाहरूले कसरी दिनचर्या व्यतित गर्दै होलान्, म कल्पनासमेत गर्न सक्दिनँ । खै राज्यलाई दुःखेको ? यो जिम्मेवारी कसको ? पटकपटक राजनीतिक दलहरूको खेलौना भयौं हामी । एउटा सरकार आउँछ, सेवा सुविधा बढाउँछ । फेरि अर्को सरकार आउँछ, पाएको सुविधा पनि काट्छ । थाहा छैन, कतिञ्जेल कठपुतली बनिरहनु पर्ने हो ।

मबाहेक १६ हजार ९९९ जनामध्ये एकभन्दा बढी सन्तान भएका आमाहरूले कसरी दिनचर्या व्यतित गर्दै होलान्, म कल्पनासमेत गर्न सक्दिनँ । खै राज्यलाई दुःखेको ? यो जिम्मेवारी कसको ? पटकपटक राजनीतिक दलहरूको खेलौना भयौं हामी ।

न्यायका लागि लडेको पनि वर्षौं भयो । न्याय माग्दै पटकपटक सडकमा बसियो । सबैजसो राजनीतिक दलहरूसँग छलफल गरियो । हामी शान्तिका प्रतीक सुरक्षाकर्मीका परिवार हौं । हामीले अशान्ति फैलाउन चाहेका छैनौं, उचित न्याय खोजेका हौं । न्यायको झोली थाप्दै जहाँ जाउँ आश्वासन दिनेहरूमात्र भेटिन्छन् ।

यसपटक पनि २०७९ चैत ५ देखि सुरु भएको हाम्रो आन्दोलनको रुप अहिले सरकारसँग वार्ताको टेबुलमा छ २०८० बैशाख ८ गतेदेखि । अझैसम्म वार्ता टुंगो लागेको छैन । गृह मन्त्रालयलाई सबैभन्दा निल्नु न ओकल्नु बनेको छ वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक ।

यसमा मुख्य समस्या हो, पीडक र पीडित शब्दको परिभाषा स्पष्ट नहुनु । राज्यको लाइसेन्ससहितको हतियार बोक्नेलाई सशस्त्रधारी भनिनु र शब्दमा अल्झाएर सुरक्षाकर्मीलाई पीडक अंकित गर्नु । मेरो प्रश्न छ, राज्यले दिएको हतियार बोकेका मेरा पति कसरी पीडक भए ? केही ठूलाठालूले आफूले उन्मुक्ति पाउन जबरजस्ती सशस्त्रधारी बनाएर तिनको परिवारलाई सेवा सुविधाबाट वञ्चित गराउने हो भने विनालाइसेन्सको हतियार बोकेर राज्यविरुद्ध लागेका तत्कालीन विद्रोही पक्षलाई के भन्ने ? यिनीहरूलाई देशको कानूनले नछुने हो ? यसरी नै पेलेर जाँदा देशमा भोलि अर्को विद्रोह नजन्मेला भन्न सकिन्छ ?

झट्ट हेर्दा गृह मन्त्रालय हाम्रो मागहरूप्रति सकारात्मक देखिए पनि मन्त्रालयको एकल निर्णयले हाम्रा मागहरू सम्बोधन हुनसक्ने स्थिति देखिँदैन । विधेयक संशोधन, परिपूरण र शहीद पार्क, स्तम्भ र शहीद परिवारलाई परिचयपत्र गरी हाम्रा मागलाई तीन भागमा वर्गीकरण गरिएको छ ।

गृहमन्त्री ज्यू ! हामीले तपाईंको माध्यमबाट न्याय पाउने आशा राखेका छौं । हामीलाई यतिका वर्ष निकै झुक्याए झुक्क्याउनेहरूले । अब हामी झुक्किने पक्षमा छैनौं । अब त हाम्रा छोराछोरी पनि हुर्किसकेका छन् । देशमा न्यायको ढोका बन्द भए अन्तर्राष्ट्रिय ढोका हाम्रो लागि पनि खुलेको छ । तर, त्यो दिन आउन दिनुहुने छैन भन्ने ठूलो विश्वास छ तपाईंप्रति ।

Comments

One response to “गृहमन्त्रीलाई ‘अमर प्रहरी’ पत्नीको प्रश्न- मेरा पति कसरी भए पीडक ?”

  1. राम शर्मा "सडक" Avatar
    राम शर्मा “सडक”

    वर्तमान सरकारले तात्कालिन अवस्थामा सहिद भएका राज्यका सुरक्षाकर्मी लाई जुन परिभाषामा सम्बोधन गरेको छ, यस्ले संवन्धित पीडित हरुलाई न्यायको ढोका बन्द गराएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *