माओवादीले भन्‍यो- सीताको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पत्नी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएको छ । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता भएको उल्लेख गरेका छन् । उनले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विज्ञप्तिमा उल्लेख गरे ।

‘सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ ।’

माओवादीका सल्लाहकार दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० बजेदेखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *