काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सदनमा उभिएर आफू अब धेरै समय प्रधानमन्त्री बन्ने विश्वास नभएको बताइरहँदा यो सरकार धेरै नटिक्ने छनक देखिएको छ । सत्ता गठबन्धनको शीर्ष तहमा प्रचण्डपछि १० सीट भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भद्र सहमति छ ।
त्यो सहमति कार्यान्वयन हुने सम्भावना न्यून बन्दै गएको छ । प्रचण्डपछि गठबन्धनकै सरकार बन्ने स्थिति भए कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि गठबन्धन फुटाएर स्थिर सरकारका लागि देउवालाई नै प्रधानमन्त्री दिन तयार भएको चर्चा छ ।
देउवाले छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो तय गर्दैगर्दा कांग्रेस महामन्त्री गगन थापा जसरी पनि रोक्ने प्रयासमा छन् । पार्टीमा नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका गगनले संसदीय दलको नेताबाट देउवालाई हटाउनेसम्मको तयारी गरेका छन् । यद्यपि, संसदीय गणितमा देउवाको अझै पकड छ ।
एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री कहीं पनि हुने प्रचलन नरहेको भन्दै पार्टी बदल्न देउवालाई संसदीय दलको नेताबाट बिदा गराउने गगनको रणनीति छ । उनले सके आफैं नभए अर्को व्यक्तिलाई अघि सारेर भए पनि देउवालाई हटाउने सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन् ।
शनिबार बुढानीलकण्ठ नगर समितिको अधिवेशनमा उनले भनेका थिए, ‘भूतपूर्व प्रधानमन्त्री भएको व्यक्ति कांग्रेसले पछि प्रधानमन्त्री पाएको बेलामा बन्न हुँदैन । त्यसैले संसदीय दलको नेता बदल्ने कुरामा म फेरि लाग्छु । सके आफू बन्छु । नसके अर्कोलाई बनाउँछु ।’
तर, गगनको पछिल्लो कदमप्रति इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला मौन छन् । गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको बलियो साथ छ । तर, संसदीय गणितमा कमजोर छन् ।
गगन नेतृत्व परिवर्तनको एजेण्डा लिएर मतदाता तहमा फर्किंदैगर्दा शेखरले निर्वाचित सभापति भएकाले १५औं महाधिवेशन कुर्नुको विकल्प नभएको बताउँदै आइरहेका छन् ।
बैठकको एजेण्डा बन्ला ?
बुधबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । यो बैठकमा औपचारिक रुपमा नउठे पनि अनौपचारिक रुपमा नेतृत्व परिवर्तनको कुरा उठ्ने गगन निकट एक नेताको दाबी छ ।
‘सभापति र महामन्त्रीहरुले नै बैठकको एजेण्डा तय गर्ने हो । त्यसैले सभापतिले नै नेतृत्व परिवर्तनको कुरा बैठकको एजेण्डा राख्ने कुरा भएन । तर, यो वा त्यो माध्यमबाट कुनै न कुनै ढंगबाट नेतृत्व परिवर्तनको कुरा आउँछ नै’, ती नेताले भने ।
महामन्त्रीले नै राखेपछि पार्टीको एजेण्डाको रुपमा कहीं न कहींबाट स्थापित भएको उनको भनाइ छ ।
तर, देउवा निकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव अहिले कांग्रेसमा नेतृत्व परिवर्तन हुन नसक्ने दाबी गर्छन् ।
उनले भने, ‘विधानमा व्यवस्था छ । तर, अहिले कांग्रेसको मुद्दा त्यो होइन । अहिले व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको छ । त्यसैले कांग्रेस एक ढिक्का भएर जानुपर्छ । महामन्त्री आफैं तेस्रो पोजिशनमा पार्टीको शक्तिशाली हुनुहुन्छ उहाँलाई काम गर्न कसले छेकेको छ ? किन चाहियो नेतृत्व परिवर्तन ?’
उनले महामन्त्री थापाले सबै कुरा बाहिर मिडियामा प्रचारबाजीको लागि मात्रै भनेको बताए । यादवले नेपाल प्रेससँग भने, ‘पार्टीको बैठकमा केही राख्नुभएको छैन । मिडिया खपतको कुरा हो । बैठकमा राख्नुहुन्न । उहाँले बाहिर भन्नुहुन्छ । पार्टीको बैठकमा म पनि हुन्छु, केही भन्नुभएको छैन । सभापतिको सामुन्ने केही राख्नुभएको छैन ।’
कांग्रेस नेता गुरुराज घिमिरे महामन्त्रीहरुले अहिलेको यथास्थितिबाट पार्टीलाई मुक्त गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । उनले भने, ‘उहाँहरुलाई पार्टीको निर्णय कार्यान्वयन गर्न चुनौती छ । त्यहीअनुसार अघि बढ्न दबाब पनि छ । कांग्रेस रुपान्तरणको प्रयास गर्न अब ढिला गर्नुहुन्न ।’
दलको नेता फेर्न संस्थापन पक्षको चुनौती
कांग्रेस संसदीय दलको नेतामा महामन्त्री थापा देउवासँग पराजित भएका थिए । कांग्रेसका ८९ सांसदमध्ये देउवाले ६४ र थापाले २५ मत पाएका थिए । तर, नेतृत्व परिवर्तनको कुरा जोडदार रुपमा पार्टीको तल्लो तहबाटै उठेको गगन निकट नेता अजयबाबु सिवाकोटीले बताए ।
उनले भने, ‘जिम्मेवारी हस्तान्तरण गर्नुप¥यो भन्ने कुरा पनि छ । जस्तो हिजो सुशील कोइराला सभापति हुँदा संसदीय दलको नेता रामचन्द्र पौडेल थिए । तर, त्यतिबेला पार्टीको संसदीय दलको चुनाव हारे पनि शेरबहादुर देउवाले संसदीय दलमा जे निर्णय आए पनि सहमतिको बन्दा शेरबहादुर देउवा र बहुमतको निर्णयमा रामचन्द्र पौडेल हुने गरी सहमति भएको थियो । त्यहीअनुसार दुईचार दिन सहमति कार्यान्वयनको प्रयास भएको थियो ।’
त्यही सहमति हुन नसकेपछि बहुमतीय प्रणालीमा जाँदा रामचन्द्र पौडेल १७ पटक चुनाव लडेको उनले स्मरण गरे ।
देउवाले भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा पार्टीबाट आगामी प्रधानमन्त्री आफू नबन्ने घोषणा गरेर अर्को व्यक्तिलाई तोक्नुपर्नेमा उनीहरुले दबाब बढाइरहेका छन् ।
गगन निकट ती नेता भन्छन्, ‘पार्टीभित्रको आन्तरिक परिस्थितिअनुसार देउवाले संसदीय दलको नेता म भए पनि अब छैटौं प्रधानमन्त्री म हुन्न, हाम्रोतर्फबाट यो हुन्छ भनेर अर्काे व्यक्तिलाई भन्ने कुरा उहाँबाट यही केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । हामीले त्यो कुरा स्पष्ट राख्छौं । आजको आजै नेतृत्व परिवर्तन सम्भव नहुनसक्छ ।’
देउवाले नेतृत्व परिवर्तनको कदम चाल्न सके पार्टीको तल्लो तहसम्म होप बढ्नसक्ने उनीहरुको बुझाइ छ । तल्लो कमिटीसम्म पार्टीमा बढ्दै गइरहेको निराशालाई अन्त्य गर्न नेतृत्वले सामूहिक संकल्प गर्नुपर्ने नेताहरु बताउँछन् ।
यता, देउवा निकट सहमहामन्त्री यादवले सके नेतृत्व परिवर्तन गर्न चुनौती दिए । उनी भन्छन्, ‘संसदीय दलको नेता उहाँले हार्नुभयो । तर, देउवाजीले गुमेको सत्ता फिर्ता ल्याउनुभयो । राष्ट्रपति कांग्रेसको बनाउन सफल हुनुभयो । उहाँले धेरै राम्रो काम गर्नुभएको छ । किन हटाउनुपर्यो ? अहिले पार्टीमा उहाँलाई ८० प्रतिशत समर्थन छ । कसरी उहाँबाट चल्दैन ?’
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता फेर्नसक्ने व्यवस्था छ । देउवाले आफ्नो बहुमत देखाएर पेलेर अघि बढ्न खोजे पार्टीलाई नै घाटा हुने नेताहरुको विश्लेषण छ ।
शेखरप्रति गगनको असन्तुष्टि
त्यसो त इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाको पछिल्लो मौनताप्रति गगन सन्तुष्ट छैनन् । उनले नेतृत्व परिवर्तनको एजेण्डा अघि सार्दा शेखर मौन छन् ।
देउवाले १५औं महाधिवेशनमा आफू सभापति नलड्ने घोषणा गरेपछि शेखरले रणनीतिक रुपमा आफूलाई नजिक्याएको कतिपयको टिप्पणी छ । गगनले नेतृत्व परिवर्तनको एजेण्डा बोक्दा उनी १५औं महाधिवेशन कुर्न तयार छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनले दोस्रो वरियतामा आफ्नो स्थान सुरक्षित बनाउन देउवासँग नजिकिएको कतिपयको आरोप छ ।
गगन निकट ती नेता भन्छन्, ‘पछिल्ला घटनाक्रमले शेखर दाइ पार्टी सभापतिसँग नजिकिएको देखिएको छ । तर, उहाँले व्यक्तिगत रुपमा केही भन्नुभएको छैन ।’
देउवा दाइले शेखरलाई मात्रै नभएर पार्टीका सबै नेताहरुलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको सहमहामन्त्री यादव बताउँछन् । उनले भने, ‘शेखर दाइमात्रै होइन, सबै मान्छे सभापतिको नजिक हुनुहुन्छ । पार्टीलाई एक ढिक्का बनाउने सभापतिको अभियान हो । उहाँले शेखरलाई पनि विश्वासमा लिनुभएको छ । उहाँ पनि विश्वासमा हुनुहुन्छ ।’
तर, शेखरले वरिष्ठ नेताको आकांक्षा राख्दैगर्दा पार्टी विधानले त्यो कल्पना नगरेको यादवको भनाइ छ । उनले भने, ‘विधानभन्दा बाहिर जान कोही सक्दैन । किन त विधान फेर्न सक्नुपर्यो !’
गगनको तयारी
गगन निकट नेता सिवाकोटीका अनुसार पार्टी रुपान्तरण अभियान लिएर महामन्त्री थापा भदौबाट देश दौडाहमा लाग्दैछन् ।
उनले भने, ‘तल्लो दलबाट पनि नेतृत्व परिवर्तनको दबाब आएपछि माथिल्लो तहमा पनि त्यहीअनुसार अघि बढ्दै हुनुहुन्छ । मतदाता तहबाट थप कुरा बझ्न देशव्यापी अभियान उहाँले भदौबाट थाल्दै हुनुहुन्छ । विभिन्न चरणमा यात्रा हुन्छ ।’
दशैं अगाडि ३३ दिनको मतदाता तहको कुरा सुन्ने यात्रा तय भएको उनले बताए । ‘दशैंपछि अर्को चरणको यात्रा हुन्छ । पार्टी र आफ्नो विषयलाई राखेर पार्टीलाई आशा जगाउनेगरी लाग्दै हुनुहुन्छ’, सिवाकोटीले भने ।

Leave a Reply