फाइल बोक्नेलाई ठोक्ने, निर्णय गर्नेलाई बोक्ने शैलीविरुद्ध उत्रिए ट्रेड युनियन (भिडिओ)

काठमाडौं । निजामती कर्मचारीका विभिन्न ट्रेड युनियन संगठनहरूले सरकारले निजामती कर्मचारीको मनोबल गिराउने गरी काम गरेको गुनासो गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारीका ट्रेड युनियनका नेताले सरकारले आफ्नो उद्देश्य पूरा गर्न कर्मचारीलाई तर्साउँदै मनोबल गिराएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा बहालवाला सचिव र पूर्वकर्मचारी पक्राउ परिरहेका बेला निजामती कर्मचारीका नेताहरूले निर्णय गर्नेलाई भने बोक्ने शैली देखिएको भन्दै विरोध गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए भने ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कृष्णबहादुर राउत पक्राउ परेका थिए ।

उनीहरूले यसरी निजामती कर्मचारीलाई तर्साउन थाले काममा भएको ढिलासुस्तीको जिम्मा पनि सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

सरकारले संघीय निजामती ऐन ल्याउन नसक्नुको परिणाम अहिले कर्मचारीहरूले भोग्नुपरेको उनीहरूले बताए ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले सरकारले भ्रष्टाचारी निजामती कर्मचारीमात्रै हुन, अरु सबै चोखा हुन् भन्ने भाष्य निर्माण गरेको आरोप लगाए ।

यो पनि पढ्नुस् : सीआईबी अनुसन्धान- फाइल बोक्ने कर्मचारीलाई खोर, निर्णय र फैसला गर्नेहरुको उल्टै ठूलो स्वर

‘सरकारले निजामती कर्मचारीलाई तहसनहस गर्ने उद्देश्य लियो । अब सरकारको निर्णय प्रक्रियामा आँखा चिम्लिएर सहभागी हुँदैनौं । काम कारबाहीमा ढिलासुस्ती भएको र बाधा आएको जिम्मा नेपाल सरकारले लिनुपर्छ’, उनले भने ।

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले नेपालको निजामति कर्मचारी प्रशासन उत्कृष्ठ र अनुशासित रहेको जिकिरसहित सार्क राष्ट्रका अन्य देशभन्दा सबैभन्दा थोरै तलब र चेनअफ कमाण्डमा काम गरेको बताए ।

एकीकृत कर्मचारी संगठनका अध्यक्ष गगन विष्टले कुनैपनि कर्मचारीले बदनीयतपूर्वक काम गरेको भएमा कारबाहीको भागीदार हुनुपर्ने बताए । तर, सञ्चार सचिव राउतले कुनै प्रमाण नष्ट गराउने अवस्था नरहेकाले छानबिनको क्रममा समेत थुनामा राख्न आवश्यक नरहेको उनले बताए ।

‘यही मुद्दाले सचिव राउतलाई अख्तियारले दोषी नरहेको भनी फैसला गरिसकेको अवस्थामा पक्राउ पर्नु आपत्तिजनक हो’, उनले भने ।

पेशागत महासंघका महासचिव राजन रेग्मीले सरकारमा बस्नेहरूले संविधान लागू भएको ८ वर्ष वित्नै लाग्दा पनि सरकारले संघीय निजामति ऐन नल्याएर बेथिति निम्त्याएको बताए । राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रका अध्यक्ष हरि रावलले राज्यले दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषहरुलाई सरकारले आफ्नो प्रतिष्ठाको क्षतिपूर्तिसहित सम्मान गर्नुपर्नेमा जोड दिए ।

Comments

4 responses to “फाइल बोक्नेलाई ठोक्ने, निर्णय गर्नेलाई बोक्ने शैलीविरुद्ध उत्रिए ट्रेड युनियन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    मुख्य निर्णयकर्ता बाबुराम र माधवलाइ नसमातेको किन ?

    1. Bhupal Avatar
      Bhupal

      अब यो देशको भ्रष्ट्राचारको नायक अर्थात् हिरो हुन क्षेर बहादुर सेउपा पत्नी आरजु राणा मञ्जु र बाबुराम तथा माधव नेपाल हुन् भन्नेमा दुईमत रहेन

  2. लोक बहादुर रेगामी Avatar

    साला कर्मचारी भ्रष्टाचार गर्छन फेरि गर्यो भने कर्मचारीलाई मनोबल गिराउने काम भो थुक्क नालायक हो तिमीहरुलाई त चीन जस्तो कानुन बनाउनुपर्छ भ्रष्टाचार गरेको प्रमाणीकरण भए सिधै गोलि हान्ने र गोलिको पैसा उसको परिवार लाई तिराउन लगाउनु पर्ने र भ्रष्टाचारको पैसा राष्ट्रियकरण गर्नुपर्ने ।

    1. Narayan Nepal Avatar

      बिषय बस्तु दर्शाउने तल्लो तहका ना सु , शाखा अधिकृत हुन सोमा ऐन नियम दर्शाउने उप सचिव तह तह हुऱ्दै सह सचिव , सचिव संम्बन्धित मन्त्री हुंदै प्रधानमन्त्री तह बाट निर्णय सदर भएको बिषयको जिम्मेवारी प्रधानमन्त्री को हुन्छ / सरक्क काम भए माथील्लो वहदा हुंदै प्रधान मन्त्रीले जस लिने कतै केहि भए ना सु शाखा अधिकृत लाई दोषारोपण छानबिन गरि दण्ड जरिमाना लगाउने र माथिल्लो तह उम्कने यो गलत हो / तल्लो तहको द्दृष्टी नपुग्ने भएर नै तहै तह निर्णय हुेदै उपल्लो तह बाट निर्णय पुग्नु लाई तल्लो तहको रायमा गलत भए उपल्लो तहले सच्याउननै तहै तह राखिएको हो यसर्थ तल्लो तह लाई कार्वाहि नगरि उपल्लो तहनै निर्णयकोभागिददार बन्नु पर्दछ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *