सुदूरपश्चिम प्रदेशसभाको बैठक तीन बजे बस्दै, छलफल बहिस्कार गर्ने तीन दलको चेतावनी

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज तीन बजे बस्ने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा तीन बजे बैठक राख्ने सहमति भएको हो ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा अहिले सम्म प्रदेश सभा बैठकमा छलफल हुन सकेको छैन ।

आजको बैठक सबै संसदीय दलका नेता र स्वतन्त्र सांसदलाई बोल्न दिने गरि कार्य व्यवस्था परामर्श समितिमा छलफल भएको हो ।

बजेट असन्तुलित भएको भन्दै विरोधमा रहेको माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले आजको प्रदेश सभा बैठकमा आफ्नो दलका नेताले धारणा राख्ने नराख्ने भन्ने बिषयमा निर्णय गर्न सकेका छैनन् ।

उनीहरुले कार्य व्यवस्था परामर्श समितिमा यथास्थितिमा बजेट पारित गर्न नसकिने र उक्त बजेटमा छलफल पनि गर्न नसकिने भन्दै आजको छलफल बहिस्कार गर्ने जानकारी दिएका हुन् ।

‘माओवादी, नेकपा एकीकृत समाजवादीले प्रस्ट रुपमा आजको छलफलमा संसदीय दलका नेताले धारणा राख्नुहुन्न भन्नुभयो’ बैठकमा सहभागी एक सांसदले भने ‘नागरिक उन्मुक्तिबाट त्यस्तै धारणा आयो ।’

कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी भएको सत्ता गठबन्धनकै एक सांसदले ३ बजे सम्म संसदीय दलका नेताहरूको नाम दिन आग्रह गरेको तर, आफूहरू अहिले सम्म प्रदेश सभा बैठकमा सहभागी हुने तर, उक्त छलफलमा धारणा नराख्ने पक्षमा रहेको बताए ।

सत्ता गठबन्धनका तीन दलले हिजो सामूहिक रुपमा यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेका थिए । । त्यस लगत्तै सरकार र गठबन्धनका दलहरू बिच भएको सहमतिले पनि मूर्त रूप पाउन सकेको छैन ।

आज बिहानै मुख्यमन्त्री कमल बहादुर शाह र माओवादी संसदीय दलका नेता खगराज भट्ट बिच वार्ता भएको थियो । उक्त वार्तामा ठोस सहमति नहुँदा सत्ता गठबन्धनका तीन दलले कार्य व्यवस्था परामर्श समितिमा बजेट माथिको छलफलमा धारणा नराख्ने जानकारी दिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *