‘हात्तीछाप’को छायांकन सुरु, दया र बेनिशाले गरे क्यामेरा पूजा

काठमाडौं । किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को आजबाट छायांकन सुरु भएको छ ।

बालकुमारमा रहेको एक ग्यारेजबाट यो फिल्मको छायांकन सुरु भएको हो । छायांकन अगाडि फिल्मका कलाकारहरूले क्यामेरा पूजा गरेका थिए ।

सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने यो फिल्मलाई एक महिना खिचिने निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ ।

फिल्म ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायांकन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।

नायिका बेनिशा हमालले पहिलो पटक दयाहाङ राईसँग काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन् । नायक दयाहाङ राईले फिल्मको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न लागेको बताए ।

यसअघि किरण नेपालीको निर्माणमै बनेको फिल्म ‘२ नम्बरी’मा दया, सौगात र उपासनाले काम गरेका थिए । यो फिल्म सुपरहिट भएपछि किरणले ‘हात्तीछाप’को निर्माण सुरु गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *