काठमाडौं। प्रहरी अधिकारीहरूमाझ परिचित दीपकराज जोशी पछिल्ला केही सातायता हिरासतमा छन्। जापान बस्दै आएका कैलालीका २८ वर्षीय जोशी सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।
सामाजिक सञ्जालमा प्रहरीका हाकिमहरूलाई तस्बिरसहित जन्मदिनको शुभकामना दिन नछुटाउने र प्राय प्रहरीबारे सकारात्मक स्टाटस लेख्दै आएका जोशीलाई जेठ २८ गते प्रहरीले कलङ्कीबाट नियन्त्रणमा लिएको थियो। उनी छुट्टीमा नेपाल आएका थिए।
जेठ २८ गते जोशीले राती ‘कलङ्की मालपोत पारी-कीर्तिपुर मित्रनगर… यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो। यसको निगरानी कसले गर्छ ?’ भन्दै प्रहरी प्रमुख वसन्तबहादुर कुँवरसमेतलाई ट्याग गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
सामाजिक सञ्जालमा धेरै प्रहरी अधिकारीसँग जोडिएका जोशीको स्टाटसबारे प्रहरीले तत्कालै थाहा नपाउने कुरै भएन। प्रहरीले तत्कालै त्यसबारे बुझ्यो। ड्युटीमा खटिएका वरिष्ठ सई र जवानलाई सोधपुछ पनि गर्यो ।
उनीहरूले राती पसलहरू बन्द गराउँदै जाने क्रममा जोशीको आफन्तको पसलमा पुगेको र त्यहाँ जोशीसँग विवाद भएको बताएका थिए।
प्रहरीले तत्कालै मापसे गरिएको भनिएका प्रहरी अधिकारीको मापसे परीक्षण पनि गरेको थियो । उनीहरूले मापसे गरेको नभेटिएपछि प्रहरीले जोशीलाई नियन्त्रणमा लिएर साइबर अपराधमा अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीका अनुसार जोशीले पनि मापसे गरेका थिएनन्।
प्रहरीसँगको बयानमा दीपकले राती ९ नबज्दै क्याफे बन्द गर भन्दै आएको र भिडियो लिन खोजेपछि हिँडेकाले शंका लागेर मापसे गरेको भनेर लेखेको उल्लेख गरेका छन्।
उनले प्रहरीप्रति आफ्नो सदैव सम्मान रहेको र प्रहरी मन पर्ने भएकाले उनीहरूका सकारात्मक कुराहरू सामाजिक सञ्जालमा नियमित पोस्ट गर्ने गरेको पनि बयान दिएका छन् ।

Leave a Reply