काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् ।
कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको टिप्पणी गरे ।
उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ ।’
२०६४ को निर्वाचनमा राम्रो परिणाम ल्याएको भएपनि टुटफुट र विभाजनले आन्दोलन कमजोर भएको बताए ।
उनले भने, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ । घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो। यो आफैमा वर्गसंघर्ष हो । वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो ।’
२०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिन लाग्न निर्देशन दिए ।
उनले भने, ‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परिसान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।’

Leave a Reply