खेलकुद परिषद्‍मा भ्रष्टाचार मौलाएको लोकतान्त्रिक खेलकुद संघको दाबी, समितिमाथि छानबिनको माग (भिडिओ)

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले वर्तमान खेलकुद परिषद् कार्यसमितिमाथि छानबिन गर्न माग गरेको छ ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राज्यबाट दिइएको उपदानमाथिको स्वेच्छाकारी खर्च, अनियमितता र भ्रष्टाचार भएको भन्दै वर्तमान खेलकुद परिषद् कार्यसमितिमाथि छानबिनको माग गरेको हो ।

संघले नवौं राष्ट्रिय खेदकुदमा पनि भ्रष्टाचार भएको आशंका गर्दै सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगाएत खेल पूर्वाधारका लागि खर्च भएको विवरण र निर्णयसहितको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ भने १९ औं एशियन गेम्सको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरुको औचित्य पुष्ट्याइँको पनि माग गरेको छ ।

अध्यक्ष देवेन्द्रकुमार शेरचनले राज्य र खेलकुद परिषद्‌बाट वर्षमा एकपटक एक खेलको अनिवार्य राष्ट्रिय प्रतियोगिता गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको बताए ।

‘खेलकुद क्षेत्रमा कुनै पनि बहानामा हुने अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्छ र परिषद्का गतिविधिहरूलाई पारदर्शी बनाइनुपर्छ ।’

संघले खेलाडीहरू आफ्नो खर्चमा आवतजावत गर्ने भएपनि परिषद्का सदस्य सचिवले खर्चको दुरुपयोग गर्दै मासिक दुई लाखभन्दा बढीको भाडाको गाडी चढ्ने गरेको भन्दै यस्ता खर्चलाई खेलाडीको हक हितमा प्रयोग गर्नुपर्ने बताएको छ ।

त्यस्तै संघले खेल संघ गठनको अन्तराष्ट्रिय मान्यता भनी संविधानसँग बाझिने ऐनको व्यवस्था तुरुन्त खारेज गर्न माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *