जनसंख्या बढाउन पाल्पाको रिब्दिकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार घोषणा

रुपन्देही । जनसंख्या बढाउन भन्दै पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।

गाउँमा जनसंख्या कम भएको, विद्यालयमा विद्यार्थी कम भएको, खेतबारी बाँझो रहेकाले दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जनाएका छन् ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एक आपसमा गाभ्नुपर्ने अवस्था आएको भन्दै वडाध्यक्ष पोखरेलले जनसङ्ख्या बढाउन पनि पुस्कार स्वरूप पाँच हजार रुपैयाँ दिन लागेको बताए।

जनसङ्ख्या बढी भएको देशमा मात्रै विकास भएको भन्दै जनसङ्ख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उनको दाबी छ ।

उनका अनुसार यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुनेछ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष यो कार्यक्रमलाई थप बजेट छुट्याइने जनाएको छ ।

वडाध्यक्ष चिरञ्जीवी पोख्रेलका अनुसार वडामा जनसंख्या पनि कम रहेको र दक्ष जनशक्तिको पनि अभाव देखिएकाले वडाका जनतालाई सन्तान उत्पादनमा जोड दिने गरी यो कार्यक्रमको घोषणा गरिएको हो ।

‘देशमै जनसंख्या घटेको छ, कृषियोग्य जग्गा बाँझो छm गाउँमा वृद्ध वृद्धा मात्रै छन्, जनसंख्या बढेर देश गरिब हुँदैन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने जनसंख्या बढाउने अबको विकल्प हो । शिक्षा र स्वास्थ्यमा लगानी गरे वृद्ध भत्ता घटाए हुन्छ । पालिकाको रातो किताबमा नै यो योजना समेटिएको छ, अब गाउँपालिका र अन्य क्षेत्रमा पनि यो अभियान चलाउनुपर्दछ’, उनले नेपाल प्रेससँग भने ।

राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दिकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनासंख्या थियो । तर जनगणना २०७८ अनुसार ३ सय जनसंख्या घटेर जम्मा २ हजार ६० मा आएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए।

वडाको घट्दो जनसंख्याको अवस्थाले थप चिन्ता बढाएका कारण दीर्घकालीन योजनाका साथ वडाले यो घोषणा गरेको पनि उनले बताए।
स्थानीय रामप्रसाद न्यौपानेले वडाध्यक्षले गाउँको समस्या हेरेर यो नीति ल्याएको बताउँदै जनसंख्या अभावमै गाउँमा बस्न छाडेको, सन्तान कम भएका कारण गाउँमा समस्या भएको बताउँदै सरकारले नै गाउँ जोगाउने नीति बनाउनुपर्ने धारणा राखे ।

पाल्पाका पूर्व जिल्ला परिषद् सदस्य तथा अधिवक्ता पदम कार्कीले यो निर्णय जनसंख्या सम्बन्धी नीति विपरीत भएर बाझिए पनि गाउँमा जनसंख्या कम भएको, भएको संख्या पलायन भएको, रोजगारीको लागि बाहिरिएर गाउँ खाली भएका कारण ल्याइएको हुनसक्ने बताए ।

उनले जनसंख्या बढाएर मात्रै पनि यो समस्या समाधान नहुने र गाउँमा बस्ने दीर्घकालीन रणनीति बनाउनुपर्ने सुझाव दिँदै डेढ दुई सय वर्ष पहिले पनि मन्दिरका दिवालहरुमा विभिन्न चित्रहरू राखेर जनसंख्या बढाउन उत्प्रेरण दिने गरिएको इतिहासमा पढ्न पाइने बताए ।

गाउँपालिका अध्यक्ष नारायण कार्कीले वडाको सिलिङबाट आएको योजना पालिकाबाट पारित भएको जनाएका छन् । ‘यो वडाको योजना हो । सिलिङबाट आएको नमुना काम भएकाले हामीले अगाडि सारेका हौँ । गाउँमा जनसंख्या अभाव भएको विषय हो तर राष्ट्रिय नीतिसँग मेल खाने कि नखाने भन्ने विषय हुनसक्छ । यसमा कस्तो प्रतिक्रिया आउँछ त्यही अनुसार पालिका अगाडि बढ्ने छ’, उनले भने ।

Comments

One response to “जनसंख्या बढाउन पाल्पाको रिब्दिकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार घोषणा”

  1. Dil Bahadur Chidi Avatar
    Dil Bahadur Chidi

    मेरो घर रम्भा गाउँ पालिका मा पर्छ।यो मैले सोचेको सोच नै भएछ। एकचोटि म मेरो साथी संग यही कुरा बाटो मा हिन्दै तस् गरेको थिएँ। ठ्याकै मिल्यो। म खुसी छु। एक दम राम्राे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *