उद्योग मन्त्रालयको दाबी- वर्षायाममा कतै पनि खाद्यान्नको अभाव हुँदैन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा खाद्यान्न अभाव नहुने दाबी गरेको छ ।

मन्त्रालयले देशभरका गोदाममा आवश्यक खाद्यान्न मौज्दातको रहेको बताउँदै कतैपनि खाद्यान्न अभवा नहुने जनाएको हो । हाल काठमाडौं उपत्यका तथा तराईंका जिल्लाहरुमा ३६ हजार ३५६ क्वीन्टल खाद्यान्न मौज्दात रहेको मन्त्रालयको भनाइ छ । त्यस्तै, अति दुर्गम तथा दुर्गम जिल्लाहरुमा २५ हजार ५०५ क्वीन्टल खाद्यान्द मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिस्पर्धाबाट ५२ हजार ६४४ क्वीन्टल खरिद गरेको छ । असार २९ गते पनि ९१ हजार ५०० क्वीन्टल खाद्यान्नका खरिदका लागि बोलकबोल (विडीङ) गर्न लागेको खाद्य व्यवस्थाले बताएको छ ।

त्यसैगरी, कम्पनीसंग हाल कुल चामल २ लाख ५ हजार ६०५.४३ क्वीन्टल र धान २६ हजार ९११.२२ क्वीन्टल मौज्दात रहेको र भारतबाट आयात गरिने गँहु शाल्टा ट्रेडिङ मार्फत ३४ हजार ३२० क्वीन्टल तत्काल प्राप्त हुने कम्पनीले जनाएको छ ।

हाल सरकारसँग कुल २ लाख ६६ हजार ८३६.५६ क्वीन्टल खाद्यान्न मौज्दात रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

असार १२ गतेसम्म दुर्गमका जिल्लाहरुमा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यन्न ढुवानी भएको छ भने बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्वीन्टल कोटा थप गरी हवाइ मार्गबाट दैनिक ढुवानी भइ वितरण भइरहेको खाद्यले जनाएको छ । त्यस्तै, बझाङमा पनि १ हजार क्वीन्टल कोटा थप गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *