काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतमा घुस खाने कर्मचारीलाई अब कसैले बचाउन नसक्ने दाबी गरेका छन् ।
उनले भष्ट्रचारमा लिप्तहरु बार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था बन्ने बताएका छन् । ललितपुर जिल्ला अदालत परिसरमा आयोजित विरोध सभामा बोल्दै बार अध्यक्ष घिमिरेले हरेक बार इकाइमा भिजेलेन्स ग्रुप खडा गरिने बताए ।
‘त्यो ग्रुपले वाच गर्ने छ । तपाईं जोगिएको छु नभन्नु होला, कतिबेर हाम्रो क्यामराले तपाईलाई पक्रि सक्छ । भष्ट्रचारीलाई कसले बचाउँदो रहेछ, हामी पनि हेर्छौँ’, उनले भने ।
उनले अब कुनैपनि नाममा कर्मचारीलाई पैसा नदिन र पैसा मागे खबर गर्न कानुन व्यवशायीलाई आग्रह गरेका छन् । ‘उहाँहरुलाई तलबले मात्र नपुगे हामीसँग आउनुस्, हामी दिन्छौँ’, उनले भने ।
बार अध्यक्ष घिमिरेले सक्षम व्यक्तिलाई न्यायाधीश नियुक्त नगरे न्याय परिषद्विरुद्ध पनि आन्दोलन गरिने बताए ।
‘अदालतमा न्यायधिशको बढुवा हुने होइन, नियुक्त हुने हो । सक्षम व्यक्तीलाई न्यायधिश नियुक्त गरिनुपर्छ’, कानुन व्यवसायीलाई न्यायाधीश बन्न दिनु हुन्न भन्ने पर्चा भेटिएको भन्दै उनले भने । कानून व्यवसायीले वार्षिक एक अर्बभन्दा बढी कर तिरिरहेको दाबी गर्दै कर्मचारीलाई कानून व्यवसायीलाई करको दायरामा ल्याउनुपर्छ भन्ने अधिकार नभएको उनले बताए ।

Leave a Reply