सरकारको जिकिर- भ्रष्टाचारमा संलग्न ‘हाइप्रोफाइल’ का भए पनि कोही उम्कँदैनन्

काठमाडौं । सरकारले कोशी प्रदेशमा पहिचानवादीहरुको तर्फबाट भएको घटनाको विषयमा सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले लोकतन्त्रमा आफ्नो कुरा राख्न पाउने बताइन् ।

उनले भनिन्, ‘लोकतन्त्रमा सबैले आफ्नाे कुरा राख्न पाउँछ । अधिकारको पक्षपोषण गर्न पाउँछ । त्यो आफ्नो ठाउँमा छ । तर, त्यसका ठाउँमा जुन गतिविधि बढिरहेका छन् । कसैले कसैलाई जिल्ला प्रवेश निषेध भन्ने कुरा आफैंमा राम्रो कुरा होइन । त्यो गर्नुहुँदैन । अराजकतातर्फ जान हुँदैन । आन्दोलनको निकास खोज्ने प्रयास हुन्छ । त्यसतर्फ सरकार गम्भीर छ ।’

उनले कोशी प्रदेशमा देखिएको समस्या अब बन्ने नयाँ सरकारले पनि समाधानको बाटो खोज्नुपर्ने बताइन् । मन्त्री शर्माले भनिन्, ‘नयाँ सरकार बन्दैछ । त्यसले केही न केही समस्या समाधान हुन्छ । त्यसमा केन्द्रले पनि आफ्नो ठाउँबाट भूमिका खेल्छ । आन्दोलनकारी पक्षलाई प्रधानमन्त्रीले पनि बोलाएर छलफल गरिसक्नुभएको छ । सरकारको तर्फबाट पनि प्रयास भइरहेको छ ।’

उनले भ्रष्टाचारको विषयमा सरकार गम्भीर भएर लागेको बताइन् । ‘भ्रष्टाचार गर्नेको प्रोफाइल सरकारले हेर्दैन । कानूनी प्रमाण पुगेका सबैलाई कारबाही गर्छ । प्रमाण पुगेपछि घटनामा संलग्न दोषी कोही पनि उम्कदैनन् । अनुसन्धानलाई परिपक्व बनाएर अघि बढ्नुपर्छ’, उनले भनिन्, ‘प्रक्रियामा भएका सबै कुरा देख्ने कुरा पनि हुँदैन । अनुसन्धान गर्ने संस्थाले काम गरिरहेका छन् । चाहे हाइप्रोफाइल होस्, चाहे लो प्रोफाइल, भ्रष्टाचार भ्रष्टाचार नै हो । दोषी कसैलाई सरकारले छाड्दैन ।’

भ्रष्टाचारको विषयमा विगतदेखिको आशंकालाई तोडेर सरकार अघि बढेको उल्लेख गर्दै उनले कसैलाई नछाड्ने बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *