काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीका विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सरकारी खर्चमा बनेका संरचनाहरूमा उद्घाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको उनले टिप्पणी गरे ।
भोलि रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन पुगेका ओली आज स्थानीय पत्रकारहरूसँग केहीबेर सवालजवाफ गरेका थिए । पत्रकारहरुले उनलाई राजनीतिदेखि जलहरीका प्रश्नहरु सोधे । जलहरीको विषयमा प्रश्न गरिँदा ओली केही आक्रोशमा देखिन्थे ।
पत्रकारले सोधेका थिए, ‘पशुपतिको जलहरीका विषयमा तपाईंको के छ ?
ओलीले प्रतिप्रश्न गरे, ‘जलहरीबारे तपाईं जान्न खोजेको चाहीँ के ?’
पत्रकार: त्यो विषय बाहिर आयो, जलहरी निकालियो…
ओलीः एकजना मान्छेले भनेको सुनियो । सुन होइन पित्तल चढाएको हो, भ्रष्टाचार गरेको हो भनेर । एक दुई दिन त त्यसले पनि मार्केट पायो । ओहो, क्या गज्जब भेटियो भनेर सञ्चारमाध्यमलाई पनि राम्रै मौका मिलेको थियो । पछि त्यो सुनै रहेछ भन्ने थाहा भयो । त्यसपछि ११ किलो सुन कहाँ गयो ? भनेर कुरा उठ्यो । त्यो पनि तौलिएपछि थाहा भयो होला । (आफैं रोक्किएर) यो मेरो विषय हो र मलाई सोध्नुभएको ?
पत्रकार : राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूको नाम कुँदिएको भन्ने पनि छ नि ?
ओलीः शिलान्यास/उद्घाटन गरेको ठाउँमा उद्घाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि-इत्यादि कसका नाममा छन् ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै… त्यो त मलाई थाहा हुने कुरा भएन । मैले थाहा पाउने कुरा हो त्यो ? कसकसको नाम थियो ? अर्को कुरा पशुपति विकास कोषको मान्छे थियो होला…
पत्रकारः त्यसो भए यसो गर्नु स्वाभाविक हो भन्न खोज्नुभएको ?
ओलीः स्वाभाविक-अस्वाभाविकको कुरा नै होइन । आफैं छानबिन गर्नुस् न । मसित किन सोध्नुहुन्छ ? मैले लगेर टाँसेको हो नाम ? मलाई सोधेर टाँस्या हुन् ? हल्लाका पछाडि हल्काफुल्का तरिकाले नकुद्नुस् । देश अप्ठेरोमा छ । गम्भीर अवस्थामा गम्भीरतापूर्वक गम्भीर विषय उठाउनुहोला । जलहरीको सम्बन्धमा भएको के रहेछ ? पित्तल चढाएको रहेछ ? ११ किलो सुन खाएको रहेछ ? खाएको भए पनि मसित सम्बन्धित हो ? मैले त पैसा दिने हो, पशुपति विकास कोषलाई ।
पत्रकारः तर, त्यसो भनेर सरकार प्रमुख पन्छिन पाइन्छ र ?
अच्छा, अनि यहाँ रिक्सा दुर्घटना भयो भने प्रचण्ड जिम्मेवार हुने ?

Leave a Reply