घोराही सिमेन्टका लगानीकर्ताको रकम १० दिनदेखि ब्लक, आवेदन रद्द गर्न चाहनेले पैसा फिर्ता पाउने

काठमाडौँ । प्रिमियम मूल्यमा शेयर (आईपीओ) मा आवेदन दिएका घोराही सिमेन्टका लगानीकर्ताको विगत १० दिनदेखि रकम ब्लक छ । कतिपय लगानीकर्ता आवेदन क्यान्सिल गर्ने पक्षमा देखिएका छन् । तर कसरी रद्द गर्ने भन्ने चासो उनीहरुमा देखिन्छ ।

नेपाल धितोपत्र बोर्डले यदि कोही आवेदकले आईपीओ रद्द गर्न चाहेमा बाँडफाँट अगावै रद्द गर्न सक्ने बताएको छ । यद्यपि आगामी साता अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा देखिएको बोर्डले सोही प्रतिवेदनको आधारमा आईपीओ रद्द गरेर पुन खुलाउने वा अन्य विकल्प अपनाउने भन्ने विषय निर्धारण गर्नेछ ।

बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताको पैसा अहिलेसम्म उनीहरूकै खातामा रहेकोले नआत्तिन समेत आग्रह गरेका छन् । यदि उनीहरूले आईपीओ नचाहेमा फिर्ता लिन सक्ने गरी व्यवस्था गर्न अध्ययन समितिलाई भनिएको हमालले बताए ।

घोराही सिमेन्टको आईपीओमा जालसाजी भएको हो कि होइन भनेर अध्ययन गर्नका लागि धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेको एक साताभन्दा बढी भएको छ । धितोपत्र बोर्डको सुपरिवेक्षण महाशाखा प्रमुख को संयोजकत्वमा ४ सदस्यीय अध्ययन समितिले अध्ययन गरिरहेको सुपरिवेक्षण तथा नियमन विभागका प्रमुख विनयदेव आचार्यले जानकारी दिए ।

महँगो मूल्यमा सेयर निष्काशन गरेको घोराही सिमेन्टको आईपीओ निष्काशन धितोपत्र बोर्डले असार ४ गते स्थगित गरेको थियो । आज असार १४ गते भइसक्दा पनि लगानीकर्ताको रकम ब्लक नै छ । ब्लक भएको रकम कसरी फुकुवा गर्ने भन्ने चिन्तामा लगानीकर्ता देखिएका छन् ।

सीडीएसीको तथ्यांक अनुसार आईपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा १० अर्ब ९९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यो भनेको ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले प्रिमियम मूल्य सहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आईपीओ जारी गरेको हो ।ती आवेदन मध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ताका लागि परेको आवेदन फर्जी भेटिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सेयर मूल्य ४ सय ३५ रुपैयाँलाई आधार मान्दा ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको देखिन्छ ।

यसरी कुल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ ।

केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेर नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो ।

असार ४ गते निष्काशन गरेको भन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले फेरी १४ गतेसम्म समय थप गरेको थियो । अत्यधिक आवेदन पर्दा पनि न समय थपिएपछि कम्पनीको नियतमाथि नै शंका उब्जिएको थियो ।

Comments

One response to “घोराही सिमेन्टका लगानीकर्ताको रकम १० दिनदेखि ब्लक, आवेदन रद्द गर्न चाहनेले पैसा फिर्ता पाउने”

  1. Saguna Acharya Avatar
    Saguna Acharya

    तत्काल फिर्ता गर्ने माहाेल तय हाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *