काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालिएको छ । हिजो पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारजनालाई सरकारी वकिलको कार्यालय पुर्याइएको छ ।
गुरुङ, सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम बिरामी भएपछि हिजोदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूलाई अस्पतालबाट सीआईबी कार्यालय ल्याएर म्याद थपका लागि लगिएको छ । स्लाइन चढाएकै अवस्थामा स्लाइनको बोतल हातमा बोकेर उनीहरू वकिल कार्यालय पुगेका छन् ।

अहिले यो प्रकरणमा गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्तसमेत रहेका भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् । संलग्न अन्यमाथि निगरानी रहेको सीआईबीले जनाएको छ ।
२०४७ पछिको चरण चरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको एसएसपी दिनेश आचार्यले बताए ।
मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेमा हदम्यादको व्यवस्था नभएको भन्दै सीआईबीले कीर्ते मुद्दामा यो प्रकरणको फाइल खोलेको हो ।



Leave a Reply