काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघका उप- महासचिव जीन पियरे ल्याक्रोइक्सले शिष्टाचार भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मन्त्री खड्का र ल्याक्रोइक्सबीच भेटवार्ता भएको हो ।
शिष्टाचार भेटघाटको क्रममा उपप्रधानमन्त्री जीन पियरे ल्याक्रोइक्सलाई स्वागत गरेका थिए । मन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरे।
मन्त्री खड्काले नेपाल र संयुक्त राष्ट्रसंघबीच घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सक्रियतापूर्वक सहभागी हुँदै आएको र महासचिवले अगाडि बढाउनु भएको एक्सन फर पिस तथा एक्सन फर पिस प्लस प्रति नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
नेपाल सरकारले संयुक्त राष्ट्रसंघको आव्हानमा दश हजारसम्म शान्ति सैनिक पठाउन प्रतिवद्ध रहेको, करिव दुई हजार फौजको सात वटा युनिटहरुलाई संयुक्त राष्ट्रसंघबाट माग भएको छोटो अवधिमै खटाउने गरी तयारी अवस्थामा राखिएको बताए । साथै, नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई प्रभावकारी बनाउन प्रत्येक मिशनमा आवश्यक पर्ने उपकरण एवं सवारी साधनहरुको व्यवस्थापन तथा शान्ति कार्यमा खटिने सैनिकहरुलाई मिशन ईलाकामा खटाउनु पूर्वको तालिम प्रभावकारी रुपमा प्रदान गर्ने गरिएको कुरा समेत औंल्याए ।
संयुक्त राष्ट्रसंघका उप-महासचिव जीन पियरे ल्याक्रोइक्सले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकहरु अनुशासन र कार्यसम्पादनमा समेत अब्बल रहेको बताए।
साथै, उनले सो अवसरमा पिस किपिङ मिसनहरुको सुरक्षा वातावरण चुनौतिपूर्ण हुँदै गइरहेको स्थितिमा नेपालले निःशर्त रुपमा संयुक्त राष्ट्रसंघको आव्हानमा निरन्तर रुपमा शान्ति सैनिकहरु खटाइरहेकोमा नेपाल सरकार र नेपाली सेनाको प्रशंसा गरे ।
साथै, नेपालले संयुक्त राष्ट्रसंघको वातावरण संरक्षण रणनीति कार्यान्वयनमा खेलेको भूमिकाको प्रशंसा गर्दै सबै मिशनहरुलाई न्यून कार्वन युक्त बनाउने कार्यमा नेपालसँग सहकार्य गर्न संयुक्त राष्ट्रसंघ तत्पर रहेको उल्लेख गरे ।
उक्त भेटघाटमा रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिवका साथै संयुक्त राष्ट्रसंघका प्रतिनिधि र नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply